काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा आफूहरूको सशक्त सहभागिता रहेको बताएको छ ।
रास्वपाले पार्टी केन्द्रीय कार्यालयमा आज मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष झाले जेन्जी आन्दोलनमा आफ्नो पार्टीको सबैभन्दा बढी सहभागिता रहेको बताएका हुन् । ‘हामीले पार्टीको झन्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका थियौँ,’ उनले भने, ‘जेन्जी आन्दोलनमा पूर्व केन्द्रीय सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्तिशिखा लगायतलाई जिम्मेवारी दिइएको थियो ।’
रास्वपामा जेन्जीहरूको उपस्थिति उल्लेख्य रहेको दाबी गर्दै उनले तिनै जेन्जीहरू सो आन्दोलनमा सहभागी भएको स्पष्ट गरे । पार्टीको प्रतिनिधि सभाको सचेतक नै जेन्जी पुस्ताबाट रहेको उनको भनाइ थियो ।
‘त्यो बेला केन्द्रीय सदस्य रहेकी सुमनाजी पनि गएकी थिइन् । गणेश कार्की, कान्तिशिखालगायतका केन्द्रीय सदस्यहरू, सम्भवत: अरू पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रूपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ,’ उनले भने, ‘तर, हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ ।’
उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागिता रहे पनि २४ गतेको घटनामा भने सहभागी नभएको दाबी गर्दै पन्छिने प्रयत्न गरेका छन् । २४ गतेको घटनामा सहभागी हुन पार्टीले कुनै आह्वान नगरेको र आगजनी तथा लुटपाट पार्टीको सिद्धान्त नभएको उनले स्पष्ट गरेका छन् ।
FACEBOOK COMMENTS