काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले पनि समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका हुन् ।
‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।
नेपालको संविधानमा सुनिश्चित समानुपातिक/समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार नै मैले समानुपातिकतर्फ उम्मेदवारी दिएको थिएँ,’ उनले भनेका छन्। एकताबाट आएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष रहेको भन्दै आफूले सहजीकरण गरेको उनले बताएका छन् ।
‘नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता–कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ। यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय हो।
राजनीति केवल व्यक्तिगत अवसर वा पदको खोजी मात्र होइन, यो विचार, मूल्य र सबै नेता–कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने साझा अभियान हो। म यसै यात्रामा अघि बढेको छ। यसै यात्रामा समाहित हुन आह्वान पनि गर्दछु,’ उनले भनेका छन्। रास्वपाले गरेको प्राथमिक निर्वाचनमार्फत् नै उनी छानिएका थिए।

FACEBOOK COMMENTS