रुकुम पूर्व, । नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन् ।
जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताए । उनले भने– ’परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु । मत दिएर विजयी गराउनुहोला ।’
उनले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताए । उनले भने– ’म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ ।’
कार्यक्रममा स्थानीय बासिन्दाहरूले उल्लेख्य उपस्थित भई संयोजक प्रचण्डलाई स्वागत गरेका थिए । सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए।
FACEBOOK COMMENTS