काठमाडौं । आगामी कात्तिक १७ गते हुने रूपन्देही प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि असार २९ गतेदेखि मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु हुने भएको छ ।
निर्वाचन आयोगले कार्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने व्यक्तिहरुलाई लक्षित गरी असार १६ गतेसम्म सङ्कलित विवरणलाई अद्यावधिकमा समावेश गरिने जनाएको छ ।
अद्यावधिक अन्तर्गत सङ्कलित विवरण साउन १४ गते सार्वजनिक गरिनेछ । त्यसपछि साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन, झुट्टा विवरण समावेश भए उजुरी दिन, दोहोरो नाम भएका अवस्थामा एक ठाउँमा मात्रै कायम गर्न माग गर्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरुको नाम हटाउन निवेदन दिन सक्नेछन् ।
निर्वाचन आयोगले त्रुटिरहित र शुद्ध नामावली तयार पार्न आम मतदाता र सरोकारवाला सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको भन्दै साउन १५ देखि २२ गतेसम्म तोकिएका कार्यहरु अनलाइन प्रणालीमार्फत पनि गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
अन्तिम मतदाता नामावली भने भदौ २५ गते सार्वजनिक गरिनेछ ।
FACEBOOK COMMENTS