काठमाडौँ । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा किभलाई समावेश गर्नुपर्ने बताएका छन् ।
सहयोगीहरूले युक्रेनलाई सहभागी नबनाए कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा पनि जोड दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अलास्कामा युक्रेनको युद्ध बारेमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी गरिरहेका बेला युरोपेली देशले यस्तो बताएका हुन् ।
बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, किभ बिना युक्रेनमा शान्तिको बाटो खोल्न सकिँदैन । ट्रम्प र पुटिन बीचको वार्तामा युक्रेनलाई अझै आमन्त्रित गरिएको छैन ।
युक्रेनको समावेशीकरण नभएकोमा चिन्तित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन बिनाको कुनै पनि सम्झौता अमान्य हुने बताएका छन् ।
ट्रम्प पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्न इच्छुक भएपनि पुटिनको इच्छा अनुसार पहिलो चरणमा ट्रम्पसँग मात्र छलफल हुन लागेको बताइएको छ ।
FACEBOOK COMMENTS