काठमाडौं । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (सार्क सीसीआई) का उपाध्यक्ष चण्डारीराज ढकालले क्रसबोर्डर बिजनेसलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका छन् ।
३९औँ सार्क बडापत्र दिवसको अवसर पारेर डिसेम्बर ८ र ९ अर्थात् मंसिर २२ र २३ गते काठमाडौंस्थित होटेल याक एण्ड यतिमा आयोजना गरिएको सार्क सीसीआईको ८२औँ कार्यकारिणी (ईसी र जीई) बैठकमा उपाध्यक्ष ढकालले क्रसबोर्डर बिजनेस सार्क क्षेत्रका देशहरूका लागि आवश्यक रहेको बताउँदै त्यसलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । अहिले सार्क देशले अन्य मुलुकमा लगानी गर्ने भन्दा पनि सार्क क्षेत्रभित्रै लगानी प्रवद्र्धन गरी अत्यधिक रोजगारी सृजना गर्नुपर्ने उनको भनाइ थियो ।
‘अहिले सार्क मुलुकहरूले अरु देशमा लगानी गर्ने होइन,’ उनले भने, ‘हामीले सार्क क्षेत्रभित्रै लगानीको क्षेत्र विस्तार गरी औद्योगिक वातावरण बढाउनुपर्दछ र वीन–वीन (बराबरी)को अवस्थाबाट क्रसबोर्डर बिजनेसलाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ ।’
यस्तै, उनले नेपालको हकमा हरेक वर्ष श्रम बजारमा आउने युवा जनशक्तिको विदेश पलायन रोक्दै उद्योग र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए । ‘नेपालमा धेरै पोटेन्सियल (विकासका सम्भावना) हरू छन्, औद्योगिक विकासको अभावमा हाम्रा युवा जनशक्ति रोजगारीको खोजी गर्दै विदेश पलायन हुन परिरहेको छ । यसलाई रोक्न पनि हामीले युवा जनशक्तिलाई उद्योग र उत्पादनसँग जोड्नुपर्ने छ,’ उनले भने, ‘यदि युवाहरूलाई उद्योग र उत्पादनसँग जोड्न सकिएन भने वास्तवमा हामीले अपेक्षा गरेअनुसारको आर्थिक विकास हुन सक्दैन ।’
बैठकमा सहभागी हुन सार्क सीसीआई (बंगलादेश) का उपाध्यक्ष शफकत हैदर र अन्य देशका डेलिगेट्सहरू आ–आफ्नो देशको प्रतिनिधिमण्डलसहित मंसिर ७ गते नेपाल आएका थिए । उनीहरू नेपाल आएपछि सार्क सीसीआई (नेपाल) का उपाध्यक्ष चण्डीराज ढकाल समेतको डेलिगेट्स निर्माण भएको थियो । यो टीमले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउँदसँग महत्वपूर्ण भेट गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सार्क सीसीआई (नेपाल) का उपाध्यक्ष ढकालले विदेशी डेलिगेट्सहरूलाई स्वागत गरेका थिए । त्यस क्रममा उनले सार्क सीसीआईका अध्यक्ष मोहम्मद जशिम उद्दिनको भिजनबारे प्रष्ट पार्दै नेपालको सम्भावना, चुनौती र सम्भवना भएर पनि लाभ लिन नसकिएको विषयहरूबारे अवगत गराएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भारतलगायत देशको भ्रमणका क्रममा पनि आफूले सार्क क्षेत्रको आर्थिक विकासका लागि पहल गर्दै आएको र आगामी दिनमा पनि पूर्णरूपमा सहयोगी बनेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सार्कलाई प्रभावकारी ढंगबाट अघि बढाउन समेत अध्यक्ष राष्ट्रको हिसाबले आफू प्रयत्नशील रहेको विश्वास व्यक्त गरेका थिए ।
यस्तै, परराष्ट्रमन्त्री एनपी साउँदले नेपाल सार्कको अध्यक्ष मुलुक भएका कारणले पनि सार्क सीसीआईको एजेण्डामा काम गर्न आफूहरू तयार रहेको बताएका थिए । उनले सार्क क्षेत्रलाई संसारकै ठूलो म्यानुफ्याक्चरिङ र पर्यटकीय हबका रूपमा विकास गर्न सकिने भन्दै अहिलेका सबै अप्ठ्याराहरूलाई सम्बोधन गरेर सार्कलाई सशक्त बनाउने प्रयास भइरहेको जानकारी दिएका थिए ।
बैठकमा सार्क सीसीआईका अध्यक्ष मोहम्मद जशिम उद्दिनले आफ्नो कार्यकालमा सार्क सीसीआईलाई नयाँ उचाईमा लैजानेगरी काम गरिरहेको जानकारी दिए । सार्क क्षेत्रमा भएका सबै सम्भावनाहरूलाई संयुक्तरूपमा काम गरेर आफू अघि बढ्न चाहेको स्पष्ट पार्दै उनले भने, ‘नेपालमा सार्क सीसीआईको बैठक भव्य भएकोमा सार्क सीसीआई (नेपाल) का उपाध्ययक्ष चण्डीराज ढकाल र उद्योग वाणिज्य महासंघलाई धन्यवाद र बधाई दिन चाहान्छु ।’ उनले सार्क क्षेत्रका सम्भावनाहरूलाई उत्पादनमुलक ढंगबाट सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
बैठकमा नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्सका अध्यक्ष र उपाध्यक्षहरू स–शरीर उपस्थिति थिए भने भिसाको प्राविधिक समस्याका कारण नेपाल आउन नसकेको अफगानिस्तानका अध्यक्ष र उपाध्यक्षलगायत अन्य व्यक्तित्वहरूले अनलाइनबाट सहभागिता जनाएका थिए । बैठकमा सहभागीहरूले सार्क क्षेत्रको सम्भावना र चुनौतीहरूबारे चर्चा गर्दै बिजनेस ह्यापेनिङ र डुइङ बिजनेशका लागि आफूहरू सधैं सकारात्मक रहेको बताएका थिए । औद्योगिक क्षेत्रमा जोडिन सक्ने ४० प्रतिशत युवाहरू भएको सार्क मुलुकहरूले युवा र यहाँका सम्भावनारूलाई उजागर गर्नुपर्नेमा उनीहरूको जोड थियो । औद्योगिक क्षेत्रमा जोडिन सक्ने ४० प्रतिशत युवा जनशक्ति अन्य कुनै क्षेत्रमा नभएको उनीहरूको भनाइ थियो ।
सार्कको गतिविधि पूर्णरूपमा रोकिनु राम्रो नभएको भन्दै उनीहरूले बिजनेस पिपुलहरूको अपेक्षालाई सम्बोधन गर्नका लागि राजनीतिलाई एक ठाउँमा राखेर बिजनेश ह्यापेनिङको रूपमा अघि बढ्नुपर्ने र म्यानुफ्याक्चरिकङ हब बनाउनुपर्नेमा बारम्बार जोड दिएका थिए । सार्क क्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहनाका साथै पर्यटन र जलविद्युत्को ठूलो सम्भावना रहेको पनि उनीहरूले बताएका थिए । सार्क क्षेत्रको सम्भावनाहरूलाई संयुक्तरूपमा अगाडि बढाउने र संयुक्त शक्तिबाट नै सफलता प्राप्त गर्न सकिनेमा सहभागीहरू एकमत देखिएका थिए ।
बैठकमा युवा र महिला सशक्तीकरणको विषयमा पनि छलफल गरिएको थियो । सार्क सीसीआई ईसी सदस्य एवम् युथ काउन्सिलका उपाध्यक्ष देशबन्दु बस्नेतले युवाको विश्वास बढाउन व्यावसायिक गतिविधिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । त्यसैगरी, एसडब्ल्यूईसी नेपालकी उपाध्यक्ष सरोजिनी शेरचनले महिलाको उपस्थिति र सहभागितालाई सशक्त बनाउँदै महिला सशक्तीकरण गर्न सार्क सीसीआई प्रोजेक्ट अगाडि सार्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।
सार्क सीसीआईको सो बैठकले आगामी दिनमा बंगलादेशमा सार्क प्याभेलियन प्रदर्शनी आयोजना गर्ने, नेपालले कन्क्लेभ आयोजना गर्ने र तीन महिनापछि श्रीलंंकामा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै, साउथ एशियाका अध्यक्ष, उपाध्यक्ष र डेलिगेट्सहरूले सार्कको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि सशक्तरूपमा अघि बढ्ने प्रतिबद्धता समेत बैठकले व्यक्त गरेको छ ।
बैठकमा क्रममा नरेशलाल श्रेष्ठले होलिडे एक्सप्रेसमा लञ्चको व्यवस्था गरेका थिए भने भक्तपुर च्याम्बरले २२ गते बेलुका सार्कको डेलिगेशनलाई चेम्बर भवनमा स्वागत गरेको थियो ।
FACEBOOK COMMENTS