उदयपुर । त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ ।
चार दिनअघि गएको पहिराले तोरीबारीमा चार घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए । नगरप्रमुख वसन्तकुमार बस्नेतले जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको र उनीहरूका लागि खानेकुरासहित आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए । पहिराले बगाएका चार परिवारका सदस्यलाई समेत सुरक्षित सोही स्थानमा राखी तत्काल राहत प्रदान गरिएको उनले बताए ।
पहिरोका कारण अवरुद्ध दुई सडक अस्थायी रूपमा सञ्चालन
पहिरोका कारण अवरुद्ध उदयपुर गाईघाटबाट खोटाङको दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडक बिहीबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार गाईघाट खाँबु रानीबास हुँदै जिल्लाको धार्मिक पर्यटकीयस्थल रौता जोड्ने सडक पनि पहिरो हटाएर सञ्चालन गरिएको छ । मङ्गलबार त्रियुगा नगरपालिका–१० को सेल्फीडाँडा क्षेत्रको गाईघाट दिक्तेल सडकखण्डमा पहिरो गएपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको थियो ।
FACEBOOK COMMENTS