काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ ।
आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ भइसकेका छन् ।
प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायत सामग्री तथा प्रविधि प्रदर्शन गरिनेछ ।
यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउने उद्देश्यले डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्यसमेत राखिएको छ ।

नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । व्यवसायमा आएको सुस्तताले समग्र अर्थतन्त्रमा समेत प्रभाव पारेको भन्दै उनले घरजग्गा कारोबारमा लागू विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
घरजग्गा क्षेत्रलाई चलायमान बनाउन कर्जा–मूल्य अनुपात (एलटीभी) ७० प्रतिशत पुर्याउनुपर्ने मागसमेत मल्होत्राले गरे । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गा क्षेत्रमा लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्ण्ॉप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताबीच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए । प्रदर्शनीले घरजग्गा कारोबारसँगै निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए ।
उनका अनुसार प्रदर्शनीमार्फत करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पसमेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछ ।
बाढीपीडितलाई राहतदेखि नि:शुल्क स्वास्थ्य शिविरसम्म
आयोजक संस्थाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको जनाएको छ । रसुवामा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकेको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट नि:शुल्क परामर्श उपलब्ध गराइनेछ । रक्तदान कार्यक्रमसँगै ओम हस्पिटल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ ।
रसुवाका बाढीपीडितका लागि नि:शुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराउने आयोजकको तयारी छ ।
प्रदर्शनीमा जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायत विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा सेमिनार तथा प्यानल छलफल आयोजना गरिनेछ ।
युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका तथा चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई नि:शुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता कायम राखेको आयोजकको भनाइ छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
बैंकिङ क्षेत्रमा तरलता सहज तथा ब्याजदर घट्दो क्रममा रहेकाले घरघडेरी छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीका विषयमा जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ ।
आयोजक संस्था व्यावसायिक गतिविधिमा मात्र सीमित नरही विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ।
रसुवा जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकिएको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३१ लाख नगद हस्तान्तरण गरिएको जनाइएको छ।