काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्नेछन् ।
प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभागि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवम आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाटसएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिकार नगरपालिकामार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको कम्पनीले जनाएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेको छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि छानिने छन् । दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्नेछ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै संचालन हुनेछ ।
अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु छानिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने छ । उनीहरुले बनाएको भएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS