काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैन्क्वेटमा सम्पन्न सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलगायत महत्वपूर्ण प्रस्तावहरू पारित गरिएका छन्।
सभामा अध्यक्ष मुलले शेयरधनीहरूलाई सम्बोधन गर्दै कम्पनीको वित्तीय प्रदर्शन, सेवा विस्तार तथा रणनीतिक योजनाबारे विस्तृत जानकारी दिएका थिए। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा बीमा शुल्क आयतर्फ ४ अर्ब ७९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि हो। सोही वर्ष कम्पनीले ३१ प्रतिशतले खुद मुनाफा वृद्धि गर्न सफल भएको जनाएको छ।
कम्पनीले गत वर्षको तुलनामा बढी दाबी भुक्तानी गरेको जनाइएको छ। २०७९/८० मा २ अर्ब ३८ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा २०८०/८१ मा यो संख्या २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। कम्पनीले सेवा सुधार र डिजिटल प्रणालीमार्फत दाबी प्रक्रिया प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, १५ प्रतिशत नगद लाभांश वितरण, सञ्चालक बैठक भत्ता वृद्धि र सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गरेको छ। सभामा १७ जना शेयरधनीहरूले आ–आफ्ना धारणा राखेका थिए।
FACEBOOK COMMENTS