काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आर्थिक वर्ष २०८१/०८२ को २९औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
सभा काठमाडौँको कालीकास्थानस्थित अमृतभोगमा कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष मुलले कम्पनीको समग्र व्यवसायिक अवस्था, वित्तीय प्रगति, दाबी भुक्तानी तथा आगामी रणनीतिबारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराए । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले ५० करोड २ लाख ४८ हजार ५२३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५२ प्रतिशतले वृद्धि हो ।
त्यस्तै, कम्पनीले यस आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा दाबी भुक्तानी २ अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६१४ रुपैयाँ रहेको थियो । दाबी भुक्तानीमा भएको वृद्धिले कम्पनीले बीमितप्रति उत्तरदायी र सेवामुखी दृष्टिकोण अपनाएको अध्यक्ष मुलले उल्लेख गरे ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षित वित्तीय विवरण तथा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै, सञ्चालक समितिको सिफारिसअनुसार शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
सभामा उपस्थित शेयरधनीहरूले कम्पनीको कार्यसम्पादनप्रति सन्तोष व्यक्त गर्दै लिखित तथा मौखिक सुझावहरू समेत प्रस्तुत गरेका थिए । कम्पनी व्यवस्थापनले ती सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्राहक केन्द्रित सेवा, दाबी भुक्तानीमा पारदर्शिता तथा दिगो व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्दै सलिको आगामी वर्षहरूमा पनि बीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्यसहित अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।

FACEBOOK COMMENTS