काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
स्वर्णलक्ष्मी सहकारीमा भएको घोटालाबारे बुझ्न अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
जीबी राईविरुद्ध पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।
उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिश जारी भएको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गर्न सीआईबीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको छ । सो पत्राचारसँगै प्रहरी वृत्त कालीमाटीले त्यसबारे अनुसन्धान थालेको हो ।
स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष आबद्ध कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । पीडितहरूले जीबी राई, कुमार रम्तेल र व्यवस्थापक नविन अछामीविरुद्ध जाहेरी दिएका छन् ।
नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका नविन अहिले थुनामुक्त भएका छन् । स्वर्णलक्ष्मी सहकारीका पीडितहरूले नन्दु तण्डुकारको संयोजकत्वमा संघर्षसमिति बनाएर आन्दोलन गर्दै आएका थिए ।
FACEBOOK COMMENTS