काठमाडौं । यतिबेला सहकारीपीडितहरू सडकमा छन् । आफ्ना आधारभूत आवश्यकताहरूसमेत टार्दै खाई नखाई दुःखजिलो गरेर थोरथोरै गरी बचत गरेको पैसा सहकारी सञ्चालकहरूबाटै अपचलन भएपछि उनीहरू पीडामा छन् ।
पीडितहरू सरकारसँग महासंघ नै बनाएर बचत रकम अपलचन गर्नेलाई कारबाही र बचत फिर्ता सुनिश्चिताको माग राख्दै सडकमा आएका हुन् ।
संसदीय छानबिन समितिको प्रतिवेदनले देखाएअनुसार देशका विभिन्न ४० सहकारीको ८७ अर्ब रूपैयाँ र अन्य विभिन्न सहकारीका गरी करिब एक खर्ब रूपैयाँभन्दा बढी रकम अपचलन भएको सहकारी विभागको तथ्यांक छ ।
सहकारीकाे रकम अपचलन गर्ने केहीलाई प्रहरीले प्रक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने केही जेल जीवन बिताइरहेका छन् । अपचलन गरेको सहकारीको रकमबाट उनीहरूले विभिन्न कम्पनी खडा गरी घरजग्गा, होटेल तथा रिसोर्ट, सवारी साधान खरिदलगायतमा लगानी गरेका छन् ।
सहकारीको रकम अपचलन गरेर खडा गरिएका कम्पनीको सम्पत्ति दिन प्रतिदिन बढिरहेको छ । रकम अपचलनकर्ता जेलभित्र रहे पनि उनीहरूकाे सम्पत्तिमा भने बढाेत्तरी भइरहेकाे छ । सरकारले अपचलन गर्ने व्यक्तिबाट सम्पत्ति जफत गरेर बचतकर्ताको रकम फिर्ता गराउने कुनै ठोस पहलकदमी लिएको देखिँदैन ।
इच्छाराज तामाङ
विभिन्न सहकारीबाट बचतकर्ताको ठूलो रकम हिनामिना गरेका पूर्वसासंद तथा सिभिल होम समूहका अध्यक्ष इच्छाराज तामाङ जेल साजय काटिरहेका छन् । उनले विभिन्न सहकारीबाट ५ अर्ब ६७ करोड रूपैयाँ ठगी गरेको प्रहरीले गत असारमा प्रतिवेदन तयार पारेको थियो । उनको सुन्धारामा रहेको सिभिल मल यतिबेला सञ्चालनमै छ । उक्त मलबाट मासिक ६ करोड रूपैयाँभन्दा बढी भाडा उठिरहेको हुन्छ ।
त्यस्तै उनले काठमाडौंका मुख्य स्थानमा घर, जग्गा जोडेका छन्, त्यसबाट पनि आम्दानी भइरहेकै छ ।
सीबी लामा
सहकारीको ठूलो रकम अपचलन गर्ने अर्का व्यक्ति हुन्, सीबी लामा । उनले बचतकर्ताको करिब ८ अर्ब रूपैयाँ अपचलन गरेको आरोप छ । सहकारीको रकम अपचलन गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ । उनले सहकारीबाट अपचलन गरेको रकम क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजसम्ममा लगानी गरेको आरोप छ ।
तामाङको काठमाडौंको फर्पिङमा २२ रोपनी, बूढानीलकण्ठ मा२ रोपनी बढी, थली-डाँछीमा १ रोपनी ११ आना, चपली भद्रकालीमा १ रोपनी १२ आना २ पैसा (घरसमेत), टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा, साँखुमा ३ आना जग्गा छ ।
२०५९ सालमा उनले तीनकुनेमा कान्तिपुर अस्पताल खोलेका थिए । तीनकुनेमै कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स प्रालि नामको कलेजसमेत स्थापना गरेका थिए । अस्पताल र कलेजले उनको सम्पत्ति बढाइरहेको छ । कलेज, अस्पताल र रिसोर्टबाट मात्रै मासिक करोड रूपैयाँभन्दा बढी आम्दानी भइरहेको बताइन्छ ।
जीबी राई
सहकारीको रकम अपचलनकर्तामध्ये सबैभन्दा बढी चासो र चर्चामा रहेका व्यक्ति हुन्, जीबी राई । उनले विभिन्न सहकारीबाट १६ अर्ब रूपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । हाल उनी फरार छन् ।
उनले सहकारीको रकम अपचलन गरेर गोर्खा मिडिया कम्पनीबाट ‘ग्यालेक्सी फोरके’ टेलिभिजनसमेत खोलेका थिए । त्यसमा उनले अपचलन गरेको सहकारीको ६५ करोड रूपैयाँ लगानी गरेको छानबिनले देखाएको छ ।
त्यस्तै, उक्त टेलिभिजनका तत्कालीन प्रबन्धक निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीबाट रकम ल्याउन संलग्न नभए पनि रकम गोर्खा मिडियामा आएपछि अपचलन गरेको छानबिनले देखाएको छ । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
तर, मुख्य योजनाकार मानिएका जीबी राई भने लामो समयदेखि प्रहरीको मुख छल्न सफल भइरहेका छन् । उनै राईले सहकारीको रकम अपचलन गरेर सुरूआत गरेको ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ । यद्यपि, उनले अन्य विभिन्न आठभन्दा बढी कम्पनीमा सहकारीबाट अपचलन गरेको रकम लगानी गरेको बताइन्छ । त्यसबाट उनको सम्पत्तिमा वृद्धि भइरहेको छ । राईको जीबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी, नेचर हर्ब्स प्रालि, नेचर नेष्ट प्रालि, हर्बो इन्टरनेशनल प्रालि, गोर्खा आर्युवेर्दिक प्रालि, गुप्ती टी इस्टेट प्रालिलगायत कम्पनीमा लगानी छ ।
FACEBOOK COMMENTS