काठमाडौँ । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालकै अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालकै अग्रणी रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रालि बीच काठमाण्डौ ट्रयास कलेक्सन् रेस (केटीसीआर) २०२५को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ ।
पुस २७ गते आयोजना हुने काठमाडौं ट्रयास कलेक्सन् रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो । तीनकुनेबाट शुरू हुने यस कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन् । यस अभियानले स्वास्थ्य, समुहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
यस सहकार्यबारे बोल्दै कुमारी जब प्रालिका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, “हामी केवल रोजगारीका अवसरहरु मात्र सिर्जना गर्ने नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्दछ भन्ने मान्यता राख्छौँ । यसै मान्यता अनुरुप हामीले यस काठमाडौँ ट्रयास कलेक्सन् रेसको लागि मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेका छौँ । हाम्रो यस सहकार्यले नागरिक सचेतना बढाउँदै भावी पुस्ताको लागि सुरक्षित वातावरण तयार गर्नेछ भन्ने हामीलाई विश्वास छ ।”
त्यसैगरी मैनादेवी फाउण्डेशनका अध्यक्ष केपी खनालले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, “काठमाडौँ ट्रयास कलेक्सन् रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ । कुमारी जबसँगको यो सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ । हाम्रो यस सहकार्यमार्फत मानिसहरूलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ।”
यो वर्षको ट्रयास कलेक्सन् रेसमा ३ सय भन्दा बढी स्वयंसेवकहरू परिचालन हुने भएका छन् भने ३ हजार भन्दा बढी नागरिकहरु सहभागी हुने अपेक्षा गरिएको छ । मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जबले एक दशकदेखि जनमानसमा सेवा पुर्याउँदै आएको छ । यस सहकार्यमार्फत कुमारी जबले रोजगार निर्माणमा मात्रै नभई समाजमा वातावरणीय सचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गरेको छ ।
मैनादेवी फाउन्डेसनले विगत ३ वर्षदेखि यस अभियान सन्चालन गर्दै आएको छ । तीनकुनेबाट बिहान ७ बजे शुरु भएर माइतिघरमा समापन हुने यस अभियानमा सहभागिहरुले दौडँदै फोहोर संकलन गर्ने गरेका छन्। यसरी संकलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने गरिएको आयोजकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS