काठमाडौँ । लमजुङमा दसैँका बेला मात्रै तीन हजार खसीबोका बिक्री भएका छन् ।
जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लेकाली क्षेत्रमा रहेका गोठ, जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्मबाट सो सङ्ख्यामा खसीबोका बिक्री भएका हुन् ।
कार्यालयका अनुसार जिल्लाको उच्च लेकमा रहेका गोठहरूबाट मात्रै एक हजार पाँच सयको हाराहारीमा खसीबोका बिक्री भएको अनुमान गरिएको छ । सो बाहेक विभिन्न सहकारी एवं व्यक्तिले सञ्चालन गरेका बाख्रा फार्मबाट पनि ठुलो सङ्ख्यामा खसीबोका बिक्री भएको पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।
कार्यालय प्रमुख डा. श्रेष्ठका अनुसार जिल्लामा माग भन्दा बढी भएर सो सङ्ख्यामा खसीबोका बाहिरी जिल्लामा निर्यात भएको हो । जिल्ला बाहिर निर्यात भएका खसी बोकाको विवरण अनुमान गरिए पनि जिल्ला भित्रै बिक्री भएका खसी बोकाको अनुमान भने गर्न नसकिएको डा. श्रेष्ठले बताए ।
लमजुङ जिल्ला मासु र अण्डामा भने आत्मनिर्भर रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा प्रत्येक वर्ष चार हजार मेट्रिक टनको हाराहारीमा मासु उत्पादन हुँदै आएको छ । प्रत्येक वर्ष पाँच सय भन्दा बढी मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ ।
लमजुङमा मासु प्रायोजनका लागि अत्याधिक रुपमा कुखुरा, बाख्रा, भेडा, बँगुर पालिएका छन् । अघिल्लो वर्षको तथ्याङ्क अनुसार जिल्लामा दुई लाख भन्दा बढी कुखुरा पालिएका छन् भने करिब दुई लाखकै हाराहारीमा बाख्रा, १२ हजार भन्दा बढी भेडा र चार हजार बंगुर पालिएको पशु सेवा कार्यालयको तथ्याङ्क छ ।
कृषि तथा पशुपालनमा राम्रो सम्भाव्यता भएर पनि लमजुङमा पशुजन्य उत्पादनमध्ये मासु र अण्डा पर्याप्त उत्पादन हुने गरेको छ । तर दूध र माछा उत्पादनमा भने लमजुङ अझै आत्मनिर्भर बन्न सकेको छैन । कार्यालयका अनुसार जिल्लामा अझै पनि माग भन्दा सात सय ३० मेटिक टन दूध र एक सय २७ मेट्रिकटन माछा कम उत्पादन हुँदै आएको तथ्याङ्कले देखाएको छ ।
FACEBOOK COMMENTS