काठमाडौँ । बलिवुडका चर्चित लेखक सलीम खानको मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक भइरहेका विवरणप्रति परिवार असन्तुष्ट बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
रिपोर्टमा सलीम खानको स्वास्थ्य पूर्णत: निजी विषय भएकाले अस्पताल प्रशासनलाई कुनै पनि जानकारी सञ्चार माध्यममा नदिन आग्रह गरिएको छ । स्वास्थ्य व्यक्तिगत विषय हो, यसबारेको जानकारी परिवारको सहमतिबिना सार्वजनिक नगरियोस् भन्दै परिवारले अस्पताललाई सचेत गराएको बताइएको छ । परिवारले स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी आफूमार्फत मात्र बाहिर जाने स्पष्ट पारेको बताइएको छ ।
चिकित्सकले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति परिवार असन्तुष्ट देखिएको हो । शुभेच्छुक र समर्थकले स्वास्थ्य अवस्थाबारे चासो राखे पनि चिकित्सकीय विवरण गोप्य विषय भएको परिवारको धारणा छ । अनावश्यक अड्कलबाजी रोक्न यस्तो आग्रह गरिएको बताइएको छ ।
उपचारमा संलग्न चिकित्सक जमिल पारकरले सलीम खानलाई सामान्य प्रकारको मस्तिष्क रक्तस्राव भएको जानकारी दिएका छन् । शल्यक्रिया आवश्यक नपरेको र विशेष जाँच प्रक्रिया गरिएको उनले बताएका छन् । हाल उनलाई सघन उपचार कक्षमा राखिएको छ । सुरुमा छिट्टै घर फर्काउने तयारी भए पनि पूर्ण विश्रामपछि मात्र निर्णय लिने चिकित्सकको भनाइ छ । अहिले उनी श्वासप्रश्वास उपकरणको सहायतामा रहे पनि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ । उमेर बढी भएकाले निको हुने प्रक्रिया केही ढिलो हुन सक्ने चिकित्सकले बताएका छन् ।

FACEBOOK COMMENTS