काठमाडौं । भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोश को ढाँचामा ठूलो परिवर्तन गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार बिग बोस सिजन १९ मा सोसल इन्फ्लुएन्सर वा युट्युबरहरूलाई सहभागी नगराइने भएको छ । कार्यक्रममा टेलिभिजन र फिल्महरूसँग सम्बन्धित प्रतियोगीहरू मात्र देखिने भएका छन् ।
विगत धेरै सिजनहरूमा, युट्युबर र सोसल इन्फ्लुएन्सरलाई यति ठूलो प्लेटफर्म दिने कुरामा आलोचना भइरहेको छ । यस पटक शोका निर्माताहरूले युट्युबर र सोसल इन्फ्लुएन्सरलाई शो मा नल्याउने निर्णय गरेका छन् । यस पटक निर्माताहरूको सम्पूर्ण ध्यान टिभी र फिल्मका लोकप्रिय स्टारहरूमा केन्द्रित हुनेछ ।
पछिल्ला केही सिजनहरूमा, एल्विश यादव, अभिषेक मल्हान, मनीषा रानी र रजत दलाल जस्ता डिजिटल क्रियटरहरूले बिग बोसको घर भित्र धेरै चर्चा पाएका थिए ।
सोसल इन्फ्लुएन्सरहरूका कारण कार्यक्रमको लोकप्रियता बढ्यो, तर त्योभन्दा पनि बढी कार्यक्रमको धेरै आलोचना पनि भयो । यसबाहेक, यी प्रतियोगीहरूको लोकप्रियताका कारण, अन्य प्रतियोगीहरूले प्राप्त गरेको मतमा प्रतिकूल असर पर्यो ।
जसका कारण शोका पुराना फ्यानहरू पनि रिसाएका देखिन्थे । यसै कारणले गर्दा, कार्यक्रमका निर्माताहरूले यस पटक लोकप्रिय टिभी र फिल्म स्टारहरूलाई मात्र कार्यक्रममा प्रतिस्पर्धीको रूपमा समावेश गर्ने निर्णय गरेका छन् । प्रतियोगीहरूको कास्टिङ पूर्ण रूपमा सुरु भएको बताइएको छ, तर यस सम्बन्धमा शोका निर्माताहरूबाट कुनै आधिकारिक बयान आएको छैन।
प्राप्त जानकारी अनुसार, ‘बिग बोस’ १९ को प्रिमियर यस पटक जुलाई १९, २०२५ बाट हुने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार यस पटक पनि सलमान खानले शो होस्ट गर्नेछन् । यस पटक यो शो ३ महिनाको सट्टा ५ महिनासम्म चल्नेछ। यसबाहेक, अब बिग बोसको ओटीटी संस्करण भने बन्द भएको बताइएको छ ।
FACEBOOK COMMENTS