काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । कर्पोरेशनले आर्थिक वर्ष २०८०/८१ म आर्जित १ अर्ब ४ करोड ९७ लाख रुपैयाँ नाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने भएको हो ।
कर्पोरेशनको आज (शुक्रबार) सम्पन्न ५८औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीतिउपर छलफल गरी पारित गरेको छ ।
कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८०/८१ कारोबार समष्टिगतमा मूल्याङ्कन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको बतार्ए । नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँबराबरको कारोबार गरेको उनले बताए ।
कर्पोरेशनले सुनकोशी नदीलगायतमा आएको भीषण बाढीले गरेको जनधनको क्ष्तिमा सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरूका तर्फबाट ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरूमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तरदायित्वसमेत वहन गरेको श्रेष्ठले जानकारी गराए ।
कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर–अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिङ्गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।
अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुकभर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न नवीनतम् एवं सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताए ।
FACEBOOK COMMENTS