काठमाडौं । उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेशनलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।
कर्पोरेश्नको ६२औँ वार्षिकोत्सवका अवसरमा आज कार्यालय परिसरमै आयोजना गरिएको भव्य समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले साल्ट ट्रेडिङलाई व्यावसायिक, थप विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग सरकारले गर्ने बताएका हुन् ।
साल्ट ट्रेडिङको वृद्धि र विकास तथा आपूर्ति श्रृङ्खलामा व्यवस्थित रुपमा अगाडि बढाउन नीतिगत रुपमा केही कदम चाल्नुपर्छ भन्ने महशुस गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सधैँ साथमा रहने उनको भनाइ छ ।
यस्तै, उनले साल्ट ट्रेनिङले आफूलाई थप विश्वसनीय, व्यावसायिक र प्रतिस्पर्धी बनाउन ठोस कार्ययोजनाका साथ नयाँ योजना आउनुपर्नेमा पनि जोड दिएका छन् । ‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् । हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेर प्रोत्साहित गरेका छौँ,’ मन्त्री भण्डारीले भने ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको समेत आवद्धता रहेको, लामो र व्यावसायिक पृष्ठभूमि बोकेका व्यक्तिहरू सञ्चालक रहेको परिप्रेक्ष्यमा कर्पोरेशन भरपर्दो, विश्वसनीय, अभावलाई अन्त्य गर्न सक्ने, चाँडै उपलब्ध गर्न सक्ने, उपलब्धताको व्यवस्थित कार्ययोजना भएको हुनुपर्ने उनको भनाइ छ । सरकारले जसरी कर्पोरेशनलाई विश्वास गरेको छ त्यसैगरी कर्पोेरेशनले जनताको विश्वास जित्दै विश्वसनीय संस्थाको रुपमा उभिन सक्नुपर्ने उनले मन्त्री भण्डारीले बताए ।
६ दशक लामो यात्रा पार गरेको कर्पोरेशनले आफ्नो लामो यात्रामा अनेक उतारचढाव पार गरेर यो स्थानमा आइपुगेको चर्चा गर्दै मन्त्री भण्डारीले नेपाली आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिकालाई नजरअन्दाज गर्नै नसकिने बताए । ‘अहिले अत्यावश्यक वस्तुको उपलब्धता सहज भए पनि हिजोमा असहज परिस्थितिमा आफ्नो क्षत्रमा व्यावसाकितामा रहेर उल्लेख्य काम गरेको छ,’ उनले भने, ‘वार्षिकोत्सवको अवसरमा संस्थाको उन्नति, प्रगति र अझ अब्बल व्यावसायिकतामा उभिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
उनले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सम्मानति भएकाहरूलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
FACEBOOK COMMENTS