काठमाडौं । राजसंस्था पुनः स्थापनाको माग राखेर राजावादीहरूले दैनिकजसो प्रदर्शन गर्न थालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको समाजवादी मोर्चा नेपालले पनि जवाफी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मोर्चाले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । आज ललितपुरमा आयोजित बैठकमा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । ‘पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ,’ उनले भने ।
अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताए । देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग–व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताए । उनले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको स्पष्ट पारेका छन् । ‘भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आमनेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ,’ अध्यक्ष दाहालले भने, ‘यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरुप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS