काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबल करिअरमा अर्को ठूलो उपलब्धि हासिल गरेकी छिन् ।
उनी अब न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबबाट अस्ट्रेलियाको प्रिमियर वुमन लिग (ए–लिग वुमन) खेल्ने भएकी हुन् ।
साम्बाले वेलिंगटन फिनिक्स क्लबसँग दुई वर्षको सम्झौता गरेकी हुन् । क्लबले सावित्रालाई दुई वर्षका लागि अनुबन्ध गरेको पुष्टि गर्दै उनलाई स्वागत गरेको छ । फिनिक्सका अन्तरिम मुख्य प्रशिक्षक एमी शेफर्डले साम्बाको आगमनलाई क्लबको लागि उत्साहजनक मोडको रूपमा ब्याख्या गरेकी छन् ।
उनले भनिन्, “हामी सावित्रालाई फिनिक्स ह्वानाउमा स्वागत गर्न पाउँदा गर्व गर्छौं । उनी असाधारण क्षमताको प्रमाणित गोल स्कोरर हुन् । मैदान भित्र र बाहिर दुवैमा उनको प्रभावका लागि हामी उत्साहित छौं ।”
वेलिंगटन फिनिक्स हाल अस्ट्रेलियन ए–लिग वुमनको प्रतिस्पर्धी क्लब हो, जसले पछिल्ला चार सिजनदेखि उक्त लिगमा सहभागिता जनाउँदै आएको छ । पछिल्लो सिजनमा क्लब नवौं स्थानमा रहेको थियो ।
यसअघि सावित्राले फ्रान्सको पहिलो डिभिजन महिला लिग क्लब इए गुइङ्ग्याम्पबाट दुई सिजन खेलेकी थिइन् । फ्रान्सको शीर्ष लिगमा उनले २९ खेलमा ७ गोल गरेकी थिइन् । गुइङ्ग्याम्पसँगको अनुभवलाई स्मरण गर्दै साम्बाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै क्लब र समर्थकप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
उनले लेखेकी छन्, “हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद । हाम्रो यात्राको प्रगति मेरो लागि सदैव गर्वको विषय रहनेछ । अहिले हामी दुवै नयाँ सुरुवाततर्फ अगाडि बढ्ने समय आएको छ । तर क्लब र समर्थकले दिएको मायाका लागि म सधैं आभारी छु । जहाँ भएपनि मेरो समर्थन क्लबप्रति रहनेछ ।”
सावित्रा भण्डारी नेपाली महिला फुटबलको इतिहासमै सबैभन्दा सफल स्ट्राइकरमध्ये एक मानिन्छिन् । उनले राष्ट्रिय टिमका लागि धेरै अन्तर्राष्ट्रिय उपाधि जित्न महत्त्वपूर्ण भूमिका खेलेकी छिन् । वेलिंगटन फिनिक्समा उनको आगमनले नेपाली महिला खेलकुदको अन्तर्राष्ट्रिय उपस्थिति थप बलियो बनाउने विश्वास गरिएको छ ।
नेपाल फुटबल संघ (एन्फा) लगायत विभिन्न खेल विज्ञ र समर्थकहरूले साम्बालाई शुभकामना व्यक्त गरेका छन् । उनका प्रशंसकहरू यस सफलताको स्वागत गर्दै उनलाई नयाँ क्लबमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिइरहेका छन् ।
FACEBOOK COMMENTS