काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स) बीच मर्जरको सम्झौता भएको छ । एनसीएचएल १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित औपचारिक कार्यक्रममा एनसीएचएल र नेप्स बीच गाभ्ने/प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको हो ।
एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक सञ्जीव कुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डाक्टर निलम ढुङ्गाना तिमसिनाको उपस्थिति थियो ।
यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च पदाधीकारी र नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघका अध्यक्ष तथा र नेपाल वित्तीय संस्था संघका फस्ट उपाध्यक्ष लगायतका उपस्थिति समेत थियो । एनसीएचएल र नेप्स दुवै बैंक वित्तीय संस्थाहरूको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समय देखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरु हुन् ।
विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको विद्युतीय भुक्तानीका क्षेत्र अघि बढाउनका लागि राष्ट्रिय भुक्तानी स्वीचको परियोजना अत्यावश्यक छ । साथै, नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने/गाभिने वा प्राप्तिसँग सम्बन्धी नीतिअनुसार दुई संस्थाबिच गाभ्ने/गाभिने सम्झौता भएको हो ।
यससँगै, एनसीएचएल र नेप्स प्राप्ति प्रक्रियाको माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी अगाडि बढ्नु उपयुक्त विकल्पको रूपमा पनि देखा परेको छ । सोही अवधारणालाई मुर्तरुप दिन एनसीएचएल र नेप्सबिच प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक लिखित समझदारी भएको जनाइएको छ ।
FACEBOOK COMMENTS