काठमाडौं । सरकारले आगामी वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनका लागि तीव्र तयारी गरिरहेको छ ।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने बताएका छन् ।
उनले सबै किसिमका लगानी आकर्षित गर्न समान प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा मन्त्री महतले यस्तो बताएका हुन् । साथै उनले स्वदेशी निजी क्षेत्रलाई पनि सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न आह्वान गरेका छन् ।
आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो ।
लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । त्यस्तै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ ।
FACEBOOK COMMENTS