काठमाडौं । यही मंसिर २१ र २२ गते राष्ट्रिय व्यावसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन ‘फोर्थ रेस्पोन्सिबल बिजनेस सम्मिट’ आयोजना हुने भएको छ ।
काठमाडौंको चुच्चेपाटीस्थित हायात रिजेन्सीमा दुई दिनसम्म चल्ने सम्मेलन राष्ट्रिय व्यावसायिक पहलले आयोजना गर्न लागेको हो । २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलन को चौंथो संस्करण ‘एडप्टिङ टू इमर्जिङ बिजनेस रियालिटीज’ नाराका साथ आयोजना हुने भएको छ ।
सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी तीन विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरूमार्फत गहन छलफल गरिने बताइएको छ ।
आज आइतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् ।
वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणिय उर्जा सम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् ।
कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने छ । ३० भन्दा बढी वक्ताहरू रहने कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने बताइएको छ ।
विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदुषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले यो सम्मेलन अझ बढी सान्दर्भिक हुने विश्वास गरिएको छ ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहनेछ ।
FACEBOOK COMMENTS