काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकबाट संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ पारित गर्ने तयारी छ ।
आजको बैठकमा संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ माथि दफावार छलफल हुनेछ । आजै सो विधेयशमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ पेस गर्ने कार्यतालिकासमेत रहेको छ ।
बैठकबाट सो विधेयक पारित गर्ने दलहरुको तयारी छ । सो विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । एमालेले संसदीय समितिमा ‘बार्गेनिङ’ गरेर तीनवटा समितिको नेतृत्व लिने सहमति भएपछि यो विधेयक अघि बढाइन लागेको हो ।
आज प्रतिनिधि सभाबाट सो विधेयक पारित गरेपछि राष्ट्रियसभामा पठाइन्छ । वैशाख १५ गतेसम्म विधेयक पारित र प्रमाणीकरण सक्ने कार्यतालिका छ । अनि, यो अधिवेशन अन्त्य गर्ने सरकारको योजना छ ।
यस्तै, आजको बेठकमा विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव इश्वरीदेवी न्यौपानेले पेस गर्ने कार्यतालिका पनि छ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) माथि छलफल गर्न १५ सदस्यीय विशेष समिति बनाउन लागिएको हो । यो समितिलाई अर्को अधिवेशनको प्रारम्भमा नै विधेयकमाथिको प्रतिवदन दिनेगरि समय दिने तयारी छ ।
सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहन सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव पनि आजकै बैठकमा पेस गर्नेछन् ।
FACEBOOK COMMENTS