काठमाडौं । सामसङ नेपालले आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको इन्ट्री–लेभल स्मार्टफोन दायरालाई विस्तार गर्दै नयाँ ‘ग्यालेक्सी ए–०८ एलटीई’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम बजेटमा उत्कृष्ट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरू, भरपर्दो कार्यक्षमता, बलियो सुरक्षा र लामो ब्याट्री क्षमता खोजिरहेका युवा प्रयोगकर्ताहरूलाई लक्षित गरी यो स्मार्टफोन बजारमा ल्याइएको हो ।
नयाँ स्मार्टफोन सार्वजनिक गर्दै सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ए सिरिजले नवीनतम् प्रविधिलाई सर्वसुलभ बनाउँदै एआईको पहुँचलाई थप प्रयोगकर्ताहरूसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
यो स्मार्टफोन ८.० मिलिमिटर पातलो बनावटका साथ ६.७ इन्चको फराकिलो डिस्प्लेमा उपलब्ध छ, जसले भिडियो हेर्न र सामाजिक सञ्जाल चलाउन सहज अनुभव प्रदान गर्दछ। यो फोन डार्क ब्लु (गाढा नीलो), सिल्भर (चाँदी रङ) र ग्रिन (हरियो) गरी तीनवटा आकर्षक रङहरूमा उपलब्ध गराइएको छ ।
प्रयोगकर्तालाई बारम्बार फोन चार्ज गर्ने झन्झटबाट मुक्त राख्न यस डिभाइसमा ६,००० एमएएचको विशाल ब्याट्री राखिएको छ, जसले गर्दा दिनभर बिना कुनै अवरोध भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल र गेमिङको मजा लिन सकिन्छ ।

लामो समयसम्म टिकाउ र सुरक्षित राख्न यो फोनलाई आईपी ६४ रेटिङ दिइएको छ, जसले दैनिक जीवनमा हुने धूलो, फोहोर र पानीका छिटाहरूबाट डिभाइसलाई जोगाउँछ।

यस फोनको मूल्यलाई दीर्घकालीन बनाउन सामसङले ६ जेनेरेसनसम्म ओएस (अपरेटिङ सिस्टम) अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी (सुरक्षा) अपडेट उपलब्ध गराउने घोषणा गरेको छ। यसले गर्दा ग्यालेक्सी ए०८ एलटीई आगामी वर्षहरूसम्म सुरक्षित, अद्यावधिक र नयाँ सुविधाहरूले सुसज्जित रहिरहनेछ ।

नेपाली बजारमा ग्यालेक्सी ए–०८ एलटीई तीनवटा फरक भण्डारण क्षमतामा उपलब्ध छ। ४ जिबी र्याम र ६४ जिबी भण्डारण क्षमता भएको मोडलको मूल्य ३४,४९९ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, ४ जिबी र्याम र १२८ जिबी भण्डारण भएको मोडलको मूल्य ४०,९९९ रुपैयाँ तथा ६ जिबी र्याम र १२८ जिबी भण्डारण भएको मोडलको मूल्य ४७,४९९ रुपैयाँ रहेको छ। नयाँ स्मार्टफोन खरिद प्रक्रियालाई सहज बनाउन सामसङले १२ महिनाको सरल मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि ल्याएको छ ।
जसअन्तर्गत ग्राहकहरूले प्रतिमहिना न्यूनतम १,७२५ रुपैयाँ (क्षमतानुसार २,०५० रुपैयाँ र २,३७५ रुपैयाँ) बुझाएर नागरिकताको प्रमाणपत्रका आधारमा यो फोन खरिद गर्न सक्नेछन्।