काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए५७ फाइभ–जी र ग्यालेक्सी ए३७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ ।
ए–सिरिजअन्तर्गत ल्याइएका यी नयाँ मोडलले उन्नत क्यामेरा, स्मार्ट प्रविधि र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेका छन् ।
कम्पनीले प्रिमियम प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यसहित किस्ता सुविधालाई पनि विस्तार गर्दै २४ महिनासम्मको योजना उपलब्ध गराएको छ । जुन ‘सामसङ इन्स्टा फाइनान्स’सेवा अन्तर्गत ‘हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड’मार्फत सञ्चालनमा रहेको छ ।
मूल्य र भेरियन्टका हिसाबले ग्यालेक्सी ए५७ फाइभ–जी १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यसको मासिक किस्ता दुई हजार ५४२ कायम गरिएको छ । सोही मोडलको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट ५४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
जसको मासिक किस्ता दुई हजार ३०६ पर्छ । ग्यालेक्सी ए३७ फाइभ–जी अन्तर्गत १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोडल ४९ हजार ९९९ मा उपलब्ध छ । जसको मासिक किस्ता दुई हजार १९७ तोकिएको छ ।

८ जीबी र्याम र २५६ जीबी भेरियन्ट ३७ हजार ९९९ मा उपलब्ध हुँदा यसको मासिक किस्ता एक हजार ८५७ रहेको छ । ८ जिबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडल ३४ हजार ९९९ मा पाइनेछ, जसको मासिक किस्ता एक हजार ५४४ कायम गरिएको छ । रङ विकल्पमा ए५७ फाइभ–जी असम नेभी, असम ग्रे र असम लिल्याकमा उपलब्ध छ । ए३७ फाइभ–जी असम ग्रे–ग्रीन, असम ल्याभेन्डर र असम चारकोलमा उपलब्ध छ ।

नयाँ ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ नामक स्मार्ट प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई अझ सहज डिजिटल अनुभव प्रदान गर्ने बताइएको छ । भ्वाइस ट्रान्सक्रिप्सनले कल तथा रेकर्डिङलाई टेक्स्टमा रूपान्तरण गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । एआई सेलेक्टले स्क्रिनमा रहेका सामग्रीलाई छिटो छनोट गरी एपहरूबीच सार्न मद्दत गर्छ ।

फोटो सम्पादनका लागि ‘अब्जेक्ट इरेजर’, ‘फिल्टर’ र ‘एडिट सुझाव’जस्ता सुविधा दिइएका छन् भने ग्यालेक्सी ए५७ फाइभ–जी मा ‘बेस्ट फेस’ र ‘अटो ट्रिम’जस्ता थप सुविधा पनि समावेश छन् ।
क्यामेरातर्फ दुवै स्मार्टफोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहितको ट्रिपल क्यामेरा सेटअप राखिएको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र गुणस्तरीय फोटो खिच्न मद्दत गर्छ ।
‘नाइटोग्राफी’ र उन्नत इमेज प्रोसेसिङ प्रविधिका कारण कम प्रकाशमा पनि राम्रो फोटो तथा भिडियो लिन सकिने कम्पनीको दाबी छ ।
प्रदर्शनका हिसाबले अपग्रेड गरिएको प्रोसेसरले मल्टिटास्किङ, भिडियो स्ट्रिमिङ र कन्टेन्ट निर्माणलाई सहज बनाउने बताइएको छ । पाँच हजार एमएएच क्षमताको ब्याट्रीले लामो समयसम्म प्रयोग गर्न सकिन्छ भने ग्यालेक्सी ए५७ फाइभ–जीमा ‘सुपर फास्ट चार्जिङ २.०’ सुविधा उपलब्ध छ । ठूलो भेपर चेम्बरका कारण लामो समयसम्म स्थिर प्रदर्शन कायम रहने दाबी गरिएको छ ।
सुरक्षातर्फ दुवै मोडल आईपी ६८ रेटिङसहित पानी र धुलो प्रतिरोधी छन् । कम्पनीले ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसले प्रयोगकर्तालाई दीर्घकालीन भरोसा दिने अपेक्षा गरिएको छ । समग्रमा, ग्यालेक्सी ए५७ फाइभ–जी र ग्यालेक्सी ए३७ फाइभ–जीले किफायती मूल्यमा प्रिमियम सुविधा उपलब्ध गराउँदै नेपाली स्मार्टफोन बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने कम्पनीको दाबी छ ।