नेपाल विश्वको एक अद्वितीय देश हो, जहाँ प्रकृति, संस्कृति र धर्मको अनौठो सङ्गम पाइन्छ । विशेषगरी हिन्दु धर्मको सन्दर्भमा नेपालको ऐतिहासिक र धार्मिक भूमिका अत्यन्त महत्त्वपूर्ण छ ।
अहिलेको विश्वको कुल जनसङ्ख्या आठ अर्बभन्दा बढी छ । त्यसमध्ये हिन्दु धर्मावलम्बीहरूको सङ्ख्या १५ प्रतिशत अर्थात् करिब एक अर्ब २० करोड (१२० करोड) पुगेको छ । यस्तो अवस्थामा नेपालले विश्व हिन्दु धर्मको माध्यमबाट आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गर्ने प्रचुर सम्भावना बोकेको छ । यदि यो सम्भावनाको उचित उपयोग गर्न सकियो भने नेपालले धार्मिक पर्यटनको माध्यमबाट देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा ऐतिहासिक छलाङ मार्न सक्छ ।
नेपाल सदिऔँदेखि सनातन हिन्दु धर्मको पवित्र भूमि रहिआएको छ । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, गोरखनाथ, बद्रीनाथ जाने मार्ग, स्वयम्भू, लुम्बिनी जस्ता धार्मिक स्थलहरूले नेपाललाई एउटा धार्मिक धरोहरको भण्डार बनाएका छन् ।
यहाँको जनजीवनमा धर्म केवल आस्था होइन, जीवनशैली हो । यहाँ मनाइने पर्वहरू जस्तैः तीज, दसैँ, तिहार, छठ, रामनवमी, जनैपूर्णिमा, एकादशी आदि सबै धर्मसँग गहिरो सम्बन्ध राख्दछन् । नेपालको धार्मिक विविधता र सम्पदाले यसलाई विश्वभरका हिन्दुहरूको भावना र आस्थाको केन्द्र बनाउने सामर्थ्य राख्दछ ।
विश्वमा रहेका एक अर्ब २० करोड हिन्दु धर्मावलम्बीमध्ये ठूलो हिस्सा नेपालसहित भारत, बङ्गलादेश, इन्डोनेसिया, पाकिस्तान, श्रीलङ्का, मौरिसस, फिजी, सुरीनाम, अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके र अफ्रिकालगायत देशमा छन् । तीमध्ये धेरैजसोका लागि नेपालका तीर्थस्थलहरू आस्थाको केन्द्र बनिरहेको यथार्थ हामीले देखेकै छौँ ।
भारतका करोडौँ नागरिक जनकपुरलाई ‘सीताको जन्मस्थल’ र पशुपतिनाथलाई ‘आराध्य देव’ का रूपमा लिने गर्दछन् । नेपालले यदि यो भावनात्मक सम्बन्धलाई व्यवस्थित धार्मिक टुरिजमको रूपमा रूपान्तरण गर्न सक्यो भने लाखौँ होइन करोडौँ श्रद्धालु पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।
धार्मिक पर्यटन : आर्थिक समृद्धिको आधार
वर्तमानमा नेपालले वार्षिक रूपमा लगभग १० लाख पर्यटक भित्र्याउने गर्दछ । सरकारले २० लाखको लक्ष्य लिएको भए पनि धार्मिक पर्यटनको उचित विकास हुन सकेमा यो सङ्ख्या करोडमा पुर्याउन सकिन्छ । हिन्दु तीर्थ सर्किट विकासका रूपमा जनकपुर–पशुपति–मुक्तिनाथ–बढीनाथ मार्ग निर्माण गर्न सकिन्छ भने धार्मिक पर्वहरूलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्न सकिन्छ । जस्तैः तीज, रामनवमी, छठ, गाईजात्रा आदिलाई विदेशी हिन्दु समाजमा प्रवर्द्धन गर्न सकिन्छ ।
धार्मिक पर्यटन केवल पर्यटन होइन, यो स्थानीय उत्पादन, रोजगारी र विदेशी मुद्रा भित्र्याउने शक्तिशाली स्रोत हो । त्यसैले संस्कृति र धर्म नेपालको महत्त्वपूर्ण पहिचान हुन् । नेपालको कला, वास्तुकला, सङ्गीत, नृत्य, पोसाक, खानपान सबैमा हिन्दु परम्पराको झल्को पाइने हुँदा सामान्यतः नेपालमा धर्म र संस्कृति छुट्याउन समेत मुस्किल पर्दछ ।
सनातन परम्परामा आधारित संस्कृति विश्वका लागि अध्ययन, अनुकरण र आध्यात्मिक शान्तिको स्रोत बन्न सक्छ । धर्मको संरक्षण गर्नु संस्कृति जोगाउनु हो र संस्कृति जोगाउनु राष्ट्रिय आत्मबल बलियो बनाउनु हो । त्यसैले धार्मिक पर्यटन र सनातन धर्मप्रति नेपालको नेतृत्व राजनीतिक एकता र दृष्टिकोणमा परिवर्तनबिना सम्भव छैन ।
यो विषय कुनै एक दल वा विचारधाराको एकाधिकार होइन । देशको सन्दर्भमा धर्म, संस्कृति र आर्थिक विकासलाई एकसाथ हेरिनुपर्छ । सबै पार्टीका शीर्ष नेताहरूले धर्मलाई विकृत राजनीतिक बहस होइन, राष्ट्रिय विकासको साधनका रूपमा लिनुपर्ने समय आएको छ । धर्मलाई ‘समावेशी र सार्वभौमिक’ मूल्यका साथ प्रस्तुत गरिएमा यसले समाजमा सद्भाव, आर्थिक समृद्धि र वैश्विक सम्मान दिलाउन सक्छ ।
निष्कर्षमा, नेपाल विश्व हिन्दुहरूका लागि केवल तीर्थस्थल होइन, आध्यात्मिक नेतृत्वको केन्द्र बन्न सक्ने सामर्थ्य बोकेको देश हो । यसको सनातन पहिचान, धार्मिक धरोहर र सांस्कृतिक सम्पदाको समुचित संरक्षण, प्रचार–प्रसार र प्रवर्द्धन गर्न सकेमा नेपालले पर्यटन मात्र होइन राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सन्देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।
अब समय आएको छ, नेपालले धर्म र पर्यटनलाई जोडेर समृद्धिको आधार तयार गर्ने । यो केवल सम्भावना होइन, राष्ट्रिय आवश्यकता हो ।
FACEBOOK COMMENTS