काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि सचिव डा वैकुण्ठ अर्यालले आज राष्ट्रिय समाचार समिति रासस केन्द्रीय कार्यालयस्थित समाचार सङ्कलन र सम्पादन कक्षको निरीक्षण गरे ।
रासस समाचार सङ्कलन र सम्पादन कक्षको निरीक्षणका क्रममा सञ्चार सचिव डा अर्यालले सन्तोषजनक रूपमा कार्यसम्पादन गरिरहेको राससले अब समाचार सामग्रीको गुणस्तर सुधार गरी सेवाग्राही विस्तारमा ध्यान दिनुपर्ने बताए ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आलेख र खोजमूलक समाचार सम्प्रेषण कार्यलाई प्राथमिकता दिई सेवाग्राही विस्तारलाई अभियानका रूपमा अघि बढाउन लागेको जानकारी दिए ।
महाप्रबन्धक सिद्धराज राईले सञ्चार मन्त्रालयको सहयोगमा रासस समाचार सम्पादन र सङ्कलन कक्षलाई व्यवस्थित तुल्याइएको बताए ।
राससका प्रधानसम्पादक एकराज पाठकले समग्र सम्पादन शाखा र प्रमुख समाचारदाता उत्तम सिल्वालले समाचार सङ्कलन शाखाको कार्यसम्पादनका विषयमा जानकारी गराए ।
रासस केन्द्रीय कार्यालयको कामकाज नयाँ भवनबाट सुरु हुनथालेपछि नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय र फोटो सम्पादन शाखाको कार्यसम्पादन एलुमिनियम पार्टिसनसहितको एउटै कोठाबाट हुनेगरेको छ ।
त्यसैगरी केन्द्रीय समाचार र फोटो सङ्कलन कक्ष सम्पादन शाखासँगै व्यवस्था गरी रासस समाचार सम्प्रेषण एकीकृत ढङ्गबाट हुने गरेको छ ।
FACEBOOK COMMENTS