काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला– २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।
न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।
साथै २०७५–०९–१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।
आदेशमा लेखिएको छ, ‘गौशाला २६ ले जन्ममिति २०६२–०२–१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९–०३–१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला ।’
उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।
उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् । पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको आरोपमा थप सजाय हुनुपर्ने माग गरेकी छन् ।
FACEBOOK COMMENTS