काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा परेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेको कारण लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । फाँट नम्बर २८ मा रहेका अन्य सबै मुद्दा पनि स्थगितको सूचीमा परेको छ ।
हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दा वैशाख २४ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि विविध कारण अन्य आदेश हुँदै पर धकेलिएको छ । त्यतिबेला पनि कुनै पनि न्यायाधीशले सन्दीप प्रतिवादी रहेको मुद्दाको गोला नतानेपछि स्थगित भएको थियो ।
वैशाख २४ गते विविध कारणले सर्दै आएको उक्त मुद्दा भदौ १० गते नै अन्तिम सुनुवाइ गर्ने भनिए पनि त्यतिबेला हेर्न नभ्याउनेमा परेको थियो ।
बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
FACEBOOK COMMENTS