काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका होटल तथा रेस्टुरेन्टले उपभोक्तासँग कानुन विपरीत शुल्क लिई रहेका छन् ।
गत शुक्रवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटेल–रेस्टुरेन्टहरूले मेनु मूल्यमा नै सबै शुल्क जोडी मूल्य कायम गर्नुपर्ने र अन्तिम मूल्य राख्नुपर्ने भनेर विज्ञप्ति जारी गरेको थियो ।
‘सबै होटेल, रेष्टुरेन्ट तथा बार व्यवसायीले उपभोक्ता मेनुमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नु हुन र सो मूल्यमा कुनै अतिरिक्त मूल्य नलिनुहुन सुचित गरिन्छ.’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। तर, यस्तो प्रावधान भएता पनि उपत्यकाका धेरैजसो होटेल–रेस्टुरेन्टहरूले त्यसो नगरेको पाइएको छ ।
यसको पछिल्लो उदाहरण काठमाडौँको कमलपोखरीमा रहेको सङ्गम स्वीट्स र दरबारमार्गमा रहेको सेम्स ओन ट्री क्याफे हुन् । यी दुई रेस्टुरेन्टले खुल्लेआम उपभोक्तालाई ठगी रहेका छन् ।
सङ्गम स्वीट्स र सेम्स ओन ट्री क्याफेले मेनुको मूल्य अलवा भ्याट र सेवा शुल्कसमेत कायम गरेर बिल बनाएको छ । जुन नियम तथा कानुन विपरीत छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मूल्य अभिवृद्धि कर ऐन २०५२ र मूल्य अभिवृद्धि कर नियमावली २०५३ अनुसार मेनु मूल्यमा नै सबै शुल्क कायम मूल्य कायम गर्नुपर्ने र अन्तिम मूल्य राख्नुपर्ने उल्लेख छ ।
यसबारे जिल्ला अदालत काठमाडौँले समेत यसरी एक्सट्रा भ्याट र सर्भिस शुल्क नलिनु भनेर आदेश पनि दिइसकेको अवस्था छ । तर, होटेल–रेस्टुरेन्टले अदालतको आदेशलाई लत्त्याएर आफूखुसी थप शुल्क कायम रहेको छ ।
सङ्गम स्वीट्सले आइतबार मात्र एक ग्राहकको बिलमा थप भ्याट जाेडेको पाइएको छ । सो ग्राहकको जम्म बिल ५ हजार ३ सय ९८ रुपैयाँको भएको थियो । जसमा सङ्गम स्वीट्सले १३ प्रतिशत भ्याट जोडेर अन्तिम मूल्य ६ हजार एक सय बनाएर बिल दिएको थियो । सङ्गमले त्यो बिलमा भ्याट बापत एक्सट्रा ७ सय एक रुपैयाँ जोडेको थियो ।
त्यसै गरी सोमबार सेम्स ओन ट्री क्याफेले पनि एक्सट्रा भ्याट र सर्भिस शुल्क जोडेर ३ हजार ३४५ रुपैयाँको बिललाई ४ हजार १५७ रुपैयाँको बनाएको थियो ।
यसरी रेस्टुरेन्टहरूले खुलेआम उपभोक्ता ठगी गरेको प्रति राष्ट्रिय उपभोक्ता मञ्चले चासाे देखाएकाे छ । सरकारले उपभोक्ताप्रति उदास हुँदा यसरी उपभोक्ताहरू ठगी रहेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले यसबारे सरकाले अनुगमन नगरेका कारण होटेल तथा रेस्टुरेन्टहरूले थप रकम लिइरहेको बताए । सरकारले यसबारे चासोका साथ अनुगमन गरेर उपभोक्तालाई ठगिनबाट रोक्नुपर्नेमा अध्यक्ष महर्जनको भनाइ छ ।
त्यसै गरी, वाणिज्य विभागले होटेल–रेस्टुरेन्टहरूले यसरी थप शुल्क जोडेर बिल बनाउन जनाउँदै त्यस्तो पाइएमा कारबाही गर्ने जनाएको छ । विभागले होटेल तथा रेस्टुरेन्ट सङ्घहरूलाई समेत यसबारे सचेत गराएको विभागकी निर्देशक रन्जु गौतमले बताइन । उनले भनिन्, ‘हामिले होटेल, रेस्टुरेन्ट तथा फास्टफुडहरुका विभिन्न सङ्घहरूलाई यसबारे सचेत गराइसकेका छौँ, यदि कुनै होटेलहरुले भ्याट र सेवा शुल्क लिइएको प्रमाण लिएर विभागमा आएमा हामी कारबाही गर्नेछौँ ।’
FACEBOOK COMMENTS