काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न उद्देश्य राखी विशेष सीप विकास तालिम सम्पन्न गरेको छ।
तालिम गत जेठ ३१ र असार १ गते बर्दियास्थित एक रिसोर्टमा आयोजना गरिएको थियो ।
कार्यक्रमलाई प्रभावकारी र ज्ञानमूलक बनाउनका लागि भारतका ख्यातिप्राप्त मोटिभेसनल स्पिकर तथा सेल्स ट्रेनर विजय कुमार झालाई प्रमुख प्रशिक्षकका रूपमा आमन्त्रित गरिएको थियो। झा भारतको प्रतिष्ठित जीवन बीमा कम्पनी ‘लाइफ इन्स्योरेन्स कर्पोरेसन (LIC)’ सँग लामो समयदेखि आवद्ध छन् र अन्तर्राष्ट्रिय स्तरमा सीप विकास र सेल्स ट्रेनिङमा ख्याती कमाएका व्यक्तित्व हुन् ।
तालिममा झाले जीवन बीमाको आधारभूत उद्देश्य, ग्राहकको मनोविज्ञान, आपत्तिहरू समाधान गर्ने तरिका, ग्राहकसँग सम्बन्ध विस्तार तथा दीर्घकालीन सम्बन्ध कायम राख्ने व्यावहारिक उपायहरूबारे उपयोगी र प्रयोगमा आधारित प्रशिक्षण दिएका थिए। सहभागीहरूले तालिमबाट आफ्नो बिक्री क्षमता अभिवृद्धि गर्ने आत्मविश्वास प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।
तालिममा ८० भन्दा बढी अभिकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सानिमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू, साथै सुदूरपश्चिम, कर्णाली, बाँके र बर्दिया क्षेत्रका शाखा तथा उपशाखा प्रमुख एवं कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै सीईओ पाण्डेले तालिमको महत्वमा प्रकाश पार्दै सिकाइएका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले तालिमले कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, डीसीईओ कंडेलले सीप विकास तालिमले अभिकर्ताहरूलाई व्यवहारिक क्षमता, आत्मविश्वास तथा ग्राहक सन्तुष्टिमा केन्द्रित हुन उत्प्रेरणा दिने बताए। उनले यस्तो प्रशिक्षणले बिक्री दरमा वृद्धि ल्याउनुका साथै कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतामा बल पुर्याउने विश्वास व्यक्त गरे।

कम्पनीले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।