काठमाडौं। सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकका अधिकांश सूचक सुधार भएका छन्।
चालू आर्थिक वर्षको ३ महिनामा बैकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४५ करोड ४२ लाख थियो।
नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल तथा प्रतिसेयर वितरणयोग्य नाफासमेत सुधारिनुका साथै निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ भने खराब कर्जा अनुपात घटेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ १५ पैसा रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ। यससँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसाले वृद्धि भएको छ।
बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि उकालो लागेको छ। गत वर्षको सोही अवधिमा १९ रुपैयाँ २७ पैसा रहेको यस्तो नाफा बढेर २७ रुपैयाँ ५८ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। खुद कर्जा तथा सापटी प्रवाह १।६९ प्रतिशतले वृद्धि भई २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात चालू आर्थिक वर्षको समीक्षा अवधिमा घटेर २.८६ प्रतिशतमा सीमित भएको छ। एक वर्षको अवधिमा खराब कर्जा अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको वित्तीय विवरणमा उल्लेख छ।
