काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले कास्कीको पोखरा महानगरपालिकामा अवस्थित तीनवटा विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरमा रहेको सरस्वती आधारभूत विद्यालयमा एक लाख ३५ हजार रुपैयाँ बराबरको १५ थान फलामे डेस्क, बेञ्च हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कार्की, प्रधान अध्यापक रुद्रबहादुर रानाभाट, सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय लगायतको उपस्थिति थियो ।
यस्तै, पोखरा महानगरपालिका वडा नं. १० कुडहरमा रहेको कुडहर आधारभूत विद्यालयमा एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । उक्त विद्यालयमा रहेका विशेष क्षमता भएका विद्यार्थीहरूलाई मध्यनजर गरेर सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङ, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अनिता तिमिल्सेना, प्रधान अध्यापक नन्दकिशोर बराल, सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यालगायत उपस्थित थिए ।
यसैगरी, पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको चन्द्रज्योति आधारभूत विद्यालयलाई एक लाख रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ का वडा सदस्य तीर्थबहादुर सुयल, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पाण्डे, प्रधान अध्यापक ढुण्डीराज पौडेल, निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल, सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायलगायत उपस्थित थिए ।
सबै कार्यक्रमका वक्ताहरूले यस्ता खालका कार्यक्रमहरूले निम्न आय तथा फरक क्षमता भएका विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने भन्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
FACEBOOK COMMENTS