काठमाडौं । सानिमा मिडिल तमोरले ४७ मेगावाटको दूधकोसी–४ मा ६ प्रतिशत लगानी गर्ने भएको छ ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले ४७ मेगावाटको दूधकोसी–४ जलविद्युत् आयोजनाको विकास गर्न स्थापना गरिने स्पेसल पर्पस भेहिकल (एसपीभी) कम्पनीमा ६ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको हो ।
निर्माण–सञ्चालन–स्वामित्व ग्रहण–हस्तान्तरण (बुट) प्रारूपमा उक्त आयोजना विकास गर्न विद्युत् विकास विभागले आशयपत्र आह्वान गरेकोमा आशयपत्र बुझाएका मध्ये सानिमा मिडिल तमोर र भ्योमा हाइड्रो प्रालिको संयुक्त उपक्रम (जेभी) कम्पनी छनोटमा परेको थियो ।
विभागले भदौ १० गते उक्त जेभी कम्पनीलाई छनोट गरेपछि कम्पनीले विशेष प्रयोजनको (एसपिभी) कम्पनी स्थापना गर्ने भएको हो । एसपिभी कम्पनीमा बाँकी लगानी भ्योमा हाइड्रोले गर्ने छ ।
कम्पनीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा ७३ मेगावाटको मध्य तमोर जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । यो सानिमा हाइड्रो ग्रुप अन्तर्गतको कम्पनी हो ।
FACEBOOK COMMENTS