सञ्जय नेपाल
प्रबन्ध निर्देशक तथा सीईओ, ‘लापुर्जा नेपाल’
‘लालपुर्जा नेपाल–जस्तो नाम उस्तै काम’को नाराका साथ तीन वर्षअघि स्थापना भएको यो कम्पनीले सम्पत्ति किन्न, बेच्न वा भाडामा दिन तथा ऋण लिने प्रक्रियामा सहजीकरण गर्दै आएको छ । काम गरेर केही रकम आर्जन गर्ने त व्यवसायको चरित्र नै हो । तर, त्यसको अलावा नेपालमा केही छैन र केही हुँदैन भनेर विदेसिने ट्रेण्डको विकल्पका रूपमा ‘लालपुर्जा नेपाल’को परिकल्पना गरिएको ‘लापुर्जा नेपाल’का प्रबन्ध निर्देशक तथा सीईओ सञ्जय नेपाल बताउँछन् ।
उनको यो सोचबाट नेपालमा पनि फरक ढङ्गले काम गर्दा इज्जत कमाउन र मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । अहिले उनको कम्पनीमा ६० जनाले पूर्णकालीन रोजगारी पाइरहेका छन् त्यो पनि उच्च आम्दानीका साथ । बैंक र विदेशको जागिर छोडेर व्यावसायिक महिलाहरू लालपुर्जा नेपालमा आवद्ध भइरहेको र मासिक रूपमा पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेको नेपाल बताउँछन् ।
लालपुर्जा नेपालले ‘घरजग्गा दलाल’ शब्दमाथि मानिसहरूको सोचाइ नै परिवर्तन गरी गरिमा थप्ने काम गरेको दाबी उनको छ । हाल काठमाडौंको सोह्रखुट्टेमा मुख्य कार्यालय रहेको लालपुर्जामा पाँच हजार बिक्रेता तथा करिब चार हजारभन्दा बढी सेवाग्राही जोडिएका छन् । काठमाडौंको बूढानीलकण्ठ तथा उपत्यकाबाहिर पोखरा, इटहरी, नेपालगञ्ज र चितवनमा शाखा खोलिएको छ । लालपुर्जाले ब्रोकरको कामसँगै ब्रोकर ट्रेनिङ पनि दिन थालेको छ ।
यी र यस्तै विषयवस्तुका साथै नेपालको रियल इस्टेटमा मार्केटमा थपिएको नयाँ आयामबारे सञ्जय नेपालसँग कर्पाेरेट खबर डट कमले विस्तृतरूपमा कुराकानी गरेको छ । प्रस्तुत छ, कर्पाेरेट बिजनेस म्यागजिन तथा कर्पोरेट खबर डटकमका कार्यकारी सम्पादक ज्योती जीसीले लालपुर्जा नेपालका प्रबन्ध निर्देशक सञ्जय नेपालसँग गरेको कुराकानीको सम्पादित अंश–
लालपुर्जा नेपालको स्थापना र यसले गरिरहेको कामहरू के–के हुन् ?
लालपुर्जा नेपाललको स्थापना भएको तीन वर्ष भयो । घरजग्गा किन्ने र बेच्ने ग्राहकहरूका लागि लालपुर्जा नेपाल सहजकर्ताको रूपमा काम गर्छ । जुन देशकै ठूलो रियल इस्टेट ब्रोकरेज फर्म हो । घरजग्गा किन्ने, बेच्ने, भाडामा लगाउने, लिने, सम्पत्ति किन्दा बैंक कर्जाका लागि समेत सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।
उदाहरणका लागि दुई करोड रूपैयाँ मूल्यको घर किन्दा एक करोड रूपैयाँ बजेट छ, अब अर्काे एक करोड चाहियो । यस्तो अवस्थामा कुन बैंकमा जाने ऋण कसरी अनुमोदन गर्ने जस्ता विषयमा पनि लालपुर्जा नेपालले सहज वातावरण निर्माण गर्ने काम गर्छ । घरजग्गा किन्दा बजारमूल्य कति छ, कतिमा किन्दा र बेच्दा ठिक हुन्छ, भोलि केही समस्या पो उत्पन्न हुने हो कि ? यि सबै कुराको सुनिश्चितता दिने काम लालपुर्जा नोपालको हो ।
ललपुर्जा नेपाल डिजिटल फर्ममा स्थापित छ । यसअघि पनि घरजग्गाको कारोबार भइरहकै थियो । तपाइँहरू आइसकेपछि सेवाग्राहीहरूले के फरक पाएका छन् ?
ग्राहकका लागि सहजीकरण गर्नु नै लालपुर्जा नेपालको उद्देश्य हो । पहिला घरजग्गा किन्दा दुई/तीन वटा हेर्ने कुन मनपर्छ त्यही किन्ने गरिन्थ्यो । धेरै छान्ने अवस्था थिएन । कतिपय त मापदण्ड मिचेर बनाइएका घर किन्दा आधा जग्गा नै गएको धेरै उदाहरणहरू छन् ।
लालपुर्जा नेपालमार्फत घरजग्गा किन्ने ग्राहकहरूले रोजी–रोजी, छानी–छानी घरजग्गा किन्न सक्छन् । हामीले ‘बाइ द बुक’ भन्ने विषयलाई प्राथमिकतामा राखेका छौँ । किनभने, सम्पत्ति किन्दा कुनै पनि झमेला हुनुहुँदैन, भविष्यमा बिक्री हुने खालको हुनुपर्छ । ग्राहकलाई सफल बनाउमा हामी तत्पर छौँ । त्यसका लागि हाम्रो
६० जनाको टीम लागिपरेको छ ।
अर्काे कुरा, कम्पनी भएपछि नीतिनियमभित्र बसेर काम गर्नुपर्ने हुन्छ । त्यसैले कुनै पनि ग्राहक लालपुर्जा नेपालसँग जोडिँदा प्रोफेसनल सर्भिस, सेक्युरिटी, कन्भिनियन्स, छिटो छरिटो सेवा पाउन सक्नुहुन्छ । सम्पत्ति किन्दा २० ठाउँमा धाउनुपर्छ, धेरै कागजात चाहिन्छ, वडा कार्यालय, मालपोतमा कार्यालय धाउनुपर्ने हुन्छ, तर लालपुर्जा नेपालले यि सबै समस्याको समाधान गरिरहेको छ । त्यसैले घर देखाउने मात्र हाम्रो काम होइन ।
डिजिटल रूपमा काम गर्ने अरु कम्पनीहरू पनि छन्, तिनीहरू भन्दा लालपुर्जा नेपाल भिन्न छ ?
सहज र विश्वासिलो हिसाबले काम गर्ने हो । कम्पनीको रूपमा ६ महिना मात्र काम गरेर भएन लामो समयसम्म काम गर्नुपर्छ । लालपुर्जा नेपालले ‘बाइ द बुक’ को आधारमा सेवा प्रदान गर्छ । घरजग्गा किनेपछि भोलि कुनै पनि समस्या नआओस् भन्ने कुरामा हामी अत्यन्तै धेरै सचेत छौँ । अहिलेसम्म काठमाडौं र पोखरामा मात्र ५०० हाराहारीमा घरजग्गाको कारोबार गरिसकेका छौँ ।
लालपुर्जा नेपालबाट घरजग्गा किनीसक्नुभएका ग्राहकहरूले वेबसाइटमा रिभ्यु पनि गर्नुभएको छ । त्यो नै हाम्रो लागि ठूलो उपलब्धि र विश्वास को आधार हो । लालपुर्जा नेपालमा ६० जना कर्मचारी काम गरिराख्नुभएको छ । यसले लालपुर्जा नेपाल जति पनि स्थानबाट सेवा प्रदान गरिरहेको छ ति स्थानको घरजग्गाको अवस्था, मूल्यको बारेमा जानकारी राख्न सक्षम छन् र ग्राहकलाई प्रभावकारी सेवा दिन सक्षम छन् भन्ने विषयमा कुनै द्विविधा छैन ।
बजारमा घरजग्गाको कारोबार गर्ने धेरै कम्पनीहरू रहेका छन् । जसले भ्याटमा दर्ता नभइ प्यानमै काम गर्ने पनि छन् । कतिले दर्ता पनि गरेका छैनन् होला । तर, लालपुर्जा नेपालले सबै कमाइको भ्याट तिर्दै आएको छ । लालपुर्जा नेपालले कर्मचारीका बीमा, लगानी कोषको सुविधा समेत दिएको छ ।
यद्यपि, उद्योगमा रियल इइस्टेट ब्रोकरेजका लागि दर्ता गर्ने समूह नै नभएका कारण सामान्य समस्या छ । यसलाई कुन समूहमा राख्ने भन्ने समस्या छ । बैंक, शैक्षिक परामर्श संघ, मेनपावर कम्पनीहरू सेवा प्रदान गर्ने कम्पनीका रूपमा स्थापित भएका छन् । तर, रियल इइस्टेट ब्रोकरेजलाई भने सरकारले त्यसरी हेरेको छैन ।
घरजग्गाको कारोबारमा मूल्य निर्धारण कसरी गर्नुहुन्छ ?
घरजग्गा कारोबारको मूल्य निर्धारणमा समय निकै नै महत्व हुन्छ । उदाहरणका लागि एक जना ग्राहकले साढे दुई करोड बढी मूल्यमा कुनै घर वा जग्गा किन्नु भएको छ । तर, एक दिनपछि त्यही मूल्य नरहन पनि सक्छ । त्यसैले यस्तो कारोबारमा मूल्य घट्छ वा बढ्छ भनेर बस्नु भएन । रियल इइस्टेटको कारोबार भनेको ल्यापटप, कम्प्युटर, गाडी जस्तो मूल्य निर्धारण गर्न अलि कठिन छ । किनकी नेपालमा रियल इइस्टेटको ‘रियल टाइम डेटा’ छैन । विदेशी मुलुकहरू अष्टे«लिया, क्यानडा जस्ता देशहरूमा अन्तिम समयमा कतिमा कारोबार भएको थियो हेर्न सकिन्छ । के–के विषयमा परिवर्तन भएको छ हेर्न सकिन्छ र त्यही अनुसार किन्ने कि नकिन्ने योजना बनाउन सकिन्छ । तर, नेपालको सन्दर्भमा यस्तो असम्भवप्राय: छ ।
६ आना जग्गाको मूल्य कति हो भनेर मालपोत गएर बुझ्दा पहिलाको थैली ३० लाख रूपैयाँ होला, कसैले त्यही जग्गालाई ६० लाखमा बेचेको हुनसक्छ । कसैले ४० लाखमा बेच्छ । नेपालमा ‘प्राइस भ्यालुएसन’ गर्नेबित्तिकै बैंकको भ्यालुएसन हुन्छ । बैंकको कर्जा लिने बेलामा आधिकारिक मूल्याङ्कन भएको मानिन्छ । किन्नेले आफ्नै तरिकाले किनिरहेको हुन्छ । बेच्नेले पनि आफ्नै तरिकाले बेचिरहेका हुन्छन् । बैंकले पनि उक्त क्षेत्रमा कुन मूल्य चलिरहेको छ सोही अनुसार नै भ्यालुएसन गर्ने हो । किनकी बैंकले पनि ‘सेफ साइट’ खोज्ने हो ।
पछिल्लो समय घरजग्गा कारोबारमा तीव्र कमी आएको छ । यस्तो अवस्थामा ६० जना टीमसहितको कम्पनी कसरी टिकाइरहनुभएको छ ?
बजार जति घटे पनि कारोबार त भइरहेकै छ । कारोबार छैन भनेर चुप लागेर बस्नु पनि भएन । लालपुर्जा नेपालसँग जोडिनुभएका सबै टीम मेम्बर तलबमा काम गरिरहनु भएको छ । त्यसैले ‘बाइ हुक, बाइ बुक’ प्रोपर्टी त बेच्नै पर्यो । किन्ने मान्छे छैन भन्ने पनि होइन । बेच्ने भन्दा पनि किन्न इच्छुक मान्छे धेरै हुनुहन्छ । लालपुर्जा नेपाल अझ धेरै बेच्ने क्षमता राख्दछ । भनेको जस्तो घरजग्गा नपाएको अवस्थाचाहिँ छ ।
हाम्रो महिनाको कम्तीमा १५ र बढीमा २५ सम्म कारोबार भइरहेको हुन्छ । त्यसैले कम्पनी चलाउन त्यति असहज वातावरण सृजना भएको छैन । कम्पनी चलिरहेको मात्र छैन विकास पनि भइरहेको छ । नेपालमा रियल इस्टेट ब्रोकरेजको ठूलो सम्भावना छ । यस क्षेत्रलाई हाँक्नका लागि सक्षम जनशक्तिको पनि आवश्यक पर्ला । त्यसैले यस क्षेत्रले घरजग्गा किन्ने वा बेच्ने ग्राहकका लागि सहज वातावरण मात्र निर्माण गरेको छैन रोजगारी पनि सृजना गरेको छ ।
तपाइँहरूले नाफा कसरी कमाउनुहुन्छ, कमिसन कोसँग लिनुहुन्छ ?
घरजग्गा खरिद बिक्री गर्दा ‘कमिसन पर्सेन्टेज’ भन्ने हुन्छ । कुनै पनि सम्पत्ति बिक्री गर्दा बिक्री भएपछि बिक्री भएको जम्मा मूल्यको औषतमा तीन प्रतिशत दिने प्रचलन रहेको छ । तर, लालपुर्जा नेपालमा भने ‘यम्प्रुसिफ अफ भ्याट’का कारण ३.३९ प्रतिशत लिने गरिएको छ । किनकी हामीले ‘बाइ द बुक’ गरिरहेका छौँ । तीन करोड रुपैयाँको घरजग्गा बिक्री भएको छ भने नौँ लाख रुपैयाँ कमिसन आउने भयो । यसरी नाफा कमाइन्छ ।
हाम्रो समाजमा घरजग्गा कारोबार गर्ने व्यक्ति वा संस्थालाई हेर्ने दृष्टिकोण फरक छ । ‘दलाल’ भनेर होच्याउने चलन छ । यसलाई तपाइँले कसरी लिनु भएको छ ? र, तपाइँको संस्थामा कस्तो खालका जनशक्तिले रोजगारी पाउने गरेका छन् ?
समाजमा धेरै प्रकारका मानिस हुन्छन् । कतिपयले रियल इस्टेट ब्रोकरलाई बुझेको व्यक्तिहरू सम्मानको नजरले हेर्छन् भने कतिपय नबुझेकाले नराम्रै भन्ने हो । आफुले आफ्नो पेसालाई कसरी हेर्ने भन्ने विषय महत्वपूर्ण हो । कसैले के भन्छ भन्दा पनि मैले कसैलाई पनि हानी नपुर्याई, नकारात्मक सोच नराखी काम गरिरहेको छु भने त्यो राम्रो कुरा हो । यसमा डराउनुपर्ने र होच्चिनुपर्ने कुनै कारण छैन ।
लालपुर्जा नेपालका सदस्यहरूको कुरा गर्दा धेरैजसो महिला हुनुहुन्छ । रियल इस्टेट ब्रोकरको रूपमा कोट, सुट लगाएर आत्मबिश्वासका साथ कारोबार गरिरहनुभएको छ । जसले यस कारोबारमा महिलाको सहभागिता बढाएको छ । उहाँहरू महिनाको लाखौँ रुपैयाँ कमाइ गरिरहनुभएको छ ।
हामीसँग बैंकमा काम गरिसक्नुभएका विदेशबाट फर्किनुभएका, ठूला कर्पाेरेट हाउसहरूमा काम गरिसक्नुभएका वा गर्दैगर्नुभएका व्यक्तिहरू जोडिनु भएको छ । किनकी रियल इस्टेट ब्रोकरेजको क्षेत्र भनेको फराकिलो छ । त्यसैले यस क्षेत्रमा विभिन्न क्षेत्रमा काम गरिसक्नुभएका र नयाँ जनशक्तिहरू जेडिनुभएको छ । यो क्षेत्र भनेको जति काम गर्न सक्यो त्यति कमाई हुने क्षेत्र पनि हो ।
लालपुर्जा नेपालको लक्षित ग्राहक वर्ग कुन् हो ?
हामिसँग एक करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्मका घर बेच्ने र किन्ने ग्राहकहरू हुनुहुन्छ । लालपुर्जा नेपालले एकेडेमीमार्फत तालिम पनि दिने गरेको छ । त्यसैले लालपुर्जा नेपालमा घरजग्गा किन्ने र बेच्ने मात्र होइन पढ्ने मान्छे पनि आउनु हुन्छ ।
तपाइँहरूसँग किन्ने कि बिक्री गर्न चाहाने ग्राहक धरै छन् ?
अहिले तुलनात्मक रूपमा हेर्ने हो भने किन्ने मान्छे धेरै हुनुहुन्छ । किन्न सक्ने भएर मात्र भएन किन्न इच्छुक पनि हुन पर्यो । जो इच्छुक हुनुहुन्छ उहाँले त किनिहाल्नुहुन्छ । त्यसर्थ किन सक्ने मान्छे कम र किन्न खोज्ने मान्छे धेरै हुनुहुन्छ ।
किन्ने र बेच्ने बाहानामा दु:ख दिने ग्राहक कत्तिको आउनुहुन्छ ?
यसरी घरजग्गा किन्ने वा बेच्ने मान्छेले दु:ख दिने काम सुरूवाती चरणमा हुन्थ्यो । एजेन्टले देखाइसकेपछि आफैं गएर किन्ने वा बेच्ने पनि गर्नुहुन्थ्यो तर त्यसमा कसैलाई दोष दिन चाहन्नँ । सायद हामीले राम्रो सेवा दिन नसकेर होला । अहिले अवस्था परिवर्तन भएको छ । हामी नहुँदा कारोबार हुँदैन, हामी भएपछि मात्र कारोबार हुने हो । गलत नियत राखेर कारोबार धेरैले गर्नुभयो तर अब भने त्यस्तो छैन ।
ग्राहक घरजग्गा चाहियो भनेर आउछन्, विभिन्न ठाँउमा देखाउँदा पनि चित्त बुझाउँदैनन् त्यस्तो अवस्थामा त दु:ख महसुस हुन्छ होला नि ?
त्यो त हाम्रो काम नै हो दु:ख मान्नु भएन र लाग्दैन पनि । भोलि अर्काे ठाँउमा नदेखाउँदा फेरि ग्राहक दु:खी बन्नुहुन्छ । ग्राहकलाई दु:खी बनाउनु त भएन । व्यापार घाटा हुन्छ । त्यो भनेको आफैंलाई नोक्सान हुनु हो । सय जनालाई देखाउँदा १० जनाले किन्नुहुन्छ होला भन्ने मानसिकतामा काम गर्नुपर्छ । यसरी एउटै ग्राहकलाई धेरै स्थानमा देखाउँदा ती ग्राहकले खोजेको घरजग्गा कस्तो हो भनेर बुझिन्छ । कारोबार भएन भने पनि केहि त पक्कै सिक्ने मौका पाइन्छ । त्यो भनेको अवसर हो चुनौतीको रूपमा लिनु भएन ।
तपाइँहरूले ब्रोकरेजको तालिम पनि सञ्चालन गरिरहनुभएको छ । त्यो तालिम कसले र किन लिने ?
वास्तवमा सरकारले तालिम दिएर अनुमतिपत्र दिनुपर्ने हो, तर त्यस्तो अभ्यास नेपालमा छैन । देशमै रियल इस्टेट ब्रोकर क्षेत्रमा रोजगारी सृजना होस् भन्ने उद्देश्यका साथ तालिम दिन सुरू गरेका हौँ । १० देखि १५ दिनको रियल इस्टेट एजेन्ट मास्टर क्लास भन्ने हुन्छ । यसमा व्यावहारिक अभ्यास पनि गराइन्छ । क्षेत्रमै लगेर घरजग्गाको अवलोकन गराउने गरेका छौँ । अब प्रशिक्षकको कुरा गर्दा अनुभवी एजेन्टहरू हुनुहुन्छ जसले लामो समयदेखि यस क्षेत्रमा अनुभव हासिल गर्नुभएको छ । तालिममा आफूलाई राम्रो साबित गर्नुहुनेलाई लालपुर्जा नेपाल आफैंले रोजगारी दिने गरेको छ ।
हालसम्म कति जनालाई तालिम र रोजगारी दिनु भयो त ?
हामीले हालसम्म ६० जनालाई लालपुर्जा नेपालबाट रियल इस्टेट ब्रोकरको तालिम दिइसकेका छौँ । त्यसमध्ये पाँच–छ जना हामीसँगै काम गरिरहनु भएको छ भने कतिले आफ्नै काम सुरू गर्नुभएको छ ।
देशमा पर्याप्त रोजगारी नभएको भन्दै दिनदिनै विदेश हानिने युवा जमातलाई तपाइँको सुझाव वा सन्देश के छ ?
समाजमा दुई किसिमका मान्छे हुन्छन् । कोही अलिकति कठिन परिस्थितिको सामाना गर्न सक्ने, समस्यासँग नडराउने हुन्छन् भने कोही सुरक्षित क्षेत्र खोजिरहेका हुन्छन् । जो समस्याको समाधान खोज्न सक्ने सामरेथ्य राख्छ, जोसँग धैर्यता छ, त्यस्तो मान्छे मात्र कुनै पनि क्षेत्रमा टिक्न सक्छ । चुनौतीको सामना गर्ने व्यक्तिका लागि नेपालमा अवसर नै अवसर छ । तीन वर्ष भुइँमै सुतौँला, एक छाक खाउँला, चार घण्टा मात्रै सुतौँला भन्ने सोच छ भने नेपाल सम्भावनाको खानी हो ।
तपाइँले रियल इस्टेटबाहेक अन्य कुन–कुन क्षेत्रमा सम्भावना देख्नुहुन्छ ? जुन क्षेत्रमा युवाले तत्काल काम सुरू गर्न सकून् ।
घरजग्गाको कारोबार मात्रै गर्नुपर्छ भन्ने छैन । धेरै क्षेत्रहरू छन् आफूलाई कुन मन पर्छ त्यसमा काम गर्न सकिन्छ । यस्ता धेरै क्षेत्रहरू छन् जहाँ थोरै लगानीबाट सुरू गर्न सकिन्छ । बजेट भएर मात्र पनि हुँदैन सिप पनि चाहिन्छ । सुरूमा त सिपमा लगानी गर्नुपर्यो ।
आजको दिनमा कुनै पनि व्यक्ति एउटै काममा अल्झिनु हुँदैन । भनाइको अर्थ के हो भने लालपुर्जा नेपालमा काम गर्ने कर्मचारीले २५–३० हजार रुपैयाँ तलब लिनुहुन्छ, तर उहाँले कुनै कारोबार गर्नुभयो भने महिनाको तीनदेखि चार लाख रुपैयाँ आरामले कमाउन सक्नुहुन्छ । काम गर्दै जाँदा विज्ञापन ल्याउन थाल्यो भने थप अरु कमाउन सक्ने स्थिति बन्छ । काम गर्नलाई पैसा मात्र लगानी गरेर हुँदैन समय पनि लगानी गर्नुपर्छ ।
लालपुर्जा नेपालको कार्यक्षेत्र उपत्यकाभित्र मात्रै हो कि बाहिर पनि छ ?
लालपुर्जा नेपालको प्रमुख कार्यालय काठमाडौंको सोह्रखुट्टेमा छ । बूढानीलकण्ठ, ललितपुरको इमाडोल र भक्तपुर गरी उपत्यकामा चारवटा शाखामार्फत सेवा प्रदान गरिरहेका छौं । अब प्रमुख कार्यालय नयाँ बानेश्वरमा सार्ने योजनामा छौं । त्यसैगरी, काठमाडौैं उपत्यकाबाहिर पोखरा र इटहरीमा शाखा रहेका छन् । भविष्यमा शाखा र टीम दुबै विस्तार गर्ने योजना बनाइरहेका छौँ ।
घरजग्गा कारोबार गर्नेहरूले ठगी गरेको घटना पनि बेलाबखत सुनिन्छ । यस्ता घटनाले लालपुर्जालाई कस्तो असर पार्दछ ?
घरजग्गा जस्तो कुरामा संयमता अपनाएर नियर्णय लिनुपर्छ । सबैलाई विश्वास गर्न सकिँदैन र गर्नु पनि हुँदैन । जो दर्ता भएर व्यवस्थित तरिकाले काम गरिरहेको छ उसैसँग कारोबार गर्दा सुरक्षित भइन्छ । कागजमा नभएको जग्गा बेच्ने कुरा पहिला थियो अब त्यसरी मान्छेलाई झुक्क्याउन अब सहज छैन । जग्गा किन्दा लालपुर्जा लिएर वडा, मालपोत, नापीमा गएर नक्सा निकालेपछि के सत्य हो छर्लङ्ग हुन्छ । कसैले फसाउन सक्दैन ।
अन्तिममा केही थप्न चाहानुहुन्छ ?
रियल इस्टेट ब्रोकरेजको क्षेत्रमा १०–१५ हजार जनालाई औपचारिकरूपमै रोजगारी दिन सकिन्छ । जसले गर्दा विदेश जाने युवालाई नेपालमै रोक्न सकिन्छ । अहिलेको अवस्थामा पनि १५ हजार मान्छेलाई रोजगारी दिन सकिन्छ । भविष्यमा यो सङ्ख्या बढ्दै जानेछ ।
महिनाको तीन–चार लाख ढुक्कसँग कमाउन सकिन्छ । यस क्षेत्रमा अहिले पनि दक्ष जनशक्तिहरू काम गरिरहनु भएको छ । अझ धेरै दक्ष जनशक्तिको आवश्यकता छ । रियल इस्टेट ब्रोकरेज भनेको यस्तो क्षेत्र हो जहाँ बैंक, इन्जिनीयरिङ, हस्पिटालिटी, अवकाशप्राप्त कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिन सक्नुहुन्छ ।
लालपुर्जा नेपाललाई देशकै पहिलो ब्रोकरेज फर्मको रूपमा स्थापित गर्ने योजना अनुसार काम गरिरहेका छौँ । भोलिको दिनमा साधारण शेयर (आईपीओ) जारी गर्ने कम्पनीको रूपमा विकास गर्नेगरी अगाडि बढिरहेका छौँ ।
१०–१५ हजारलाई रोजगारीचाहिँ कसरी दिन सकिन्छ ?
राज्यले गरेन भनेर मात्र हुँदैन, पहिला त आफैंले सुरू गर्नुपर्यो अनि पो राज्यले त्यसमा सहज वातावरण निर्माण गरिदिने हो । जहाँ इच्छा हुन्छ, त्यहाँ उपाए पनि अवश्य हुन्छ । यदि अरु कसैले गर्न सक्दैन भने लालपुर्जा नेपालले नै १० हजार जनालाई रोजगारी दिन्छ । नियम अनुसार चल्नुपर्यो । एउटा नीति बनाउनु पर्यो । नीति अनुसारको निर्देशनमा काम गर्नुपर्यो ।
आजको दिनमा घरजग्गा किन्ने वा बेच्ने ग्राहकका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने लालपुर्जा नेपाल मात्र होइन । १०–१५ वटा कम्पनी राम्ररी काम गरिरहेका छन् होला । भोलिका दिनमा अझै बढ्न सक्छन् । रियल इस्टेट व्यवसायले देशको उद्योग–व्यवसायको क्षेत्रमा नयाँ आयाम थपेको छ ।
FACEBOOK COMMENTS