काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको भविष्यको रणनीति ‘मिसन ८४’ सफल बनाउनका लागि आवश्यक पर्ने बलियो नेतृत्व र एकतावद्ध पार्टीको आधार सुनिश्चित भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले पार्टीको विधान निर्माणसम्बन्धी अन्योल समाप्त भई संस्थागत स्पष्टता आएको बताएका छन्। उनले लेखेका छन्, “विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ‘८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ ।”
एमालेको केन्द्रीय सचिवालय बैठक बिहीबार राति सम्पन्न भएको थियो। बैठकले पार्टीको नयाँ विधान स्वीकृत गरेको छ। नयाँ विधानअनुसार एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र पदाधिकारी संख्या १५ रहनेछ ।
साथै, पार्टीमा हालसम्म कायम रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरिएको छ। यस निर्णयलाई पार्टीको वरिष्ठ नेतृत्वलाई सक्रिय राख्न र अनुभवको निरन्तर उपयोग गर्न खोजिएको कदमको रूपमा हेरिएको छ।
पार्टीले साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ। यी बैठकहरू आगामी भदौ २०, २१ र २२ गते हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप हुने बताइएको छ।
महासचिव पोखरेलको भनाइसँगै पार्टीभित्र नेतृत्व स्थिरता र आगामी निर्वाचनका लागि तयारीको संकेत देखिएको छ। मिसन ८४ अन्तर्गत एमालेले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जनसमर्थन विस्तारको कार्य योजना अघि बढाउने संकेत दिएको छ।
FACEBOOK COMMENTS