काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकौँ बितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गरिन् । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन चलाउन मिल्ने गरी निर्माण गर्न सरकारसँग आग्रह गरे ।
सांसद ईश्वरी घर्तीले रोल्पामा पर्यटन र अन्य विकासभन्दा सबैभन्दा पहिला सुरक्षित सडक निर्माणको आवश्यकता औँल्याउनुभयो । सांसद छिरिङ डम्डुल लामा (भोटे) ले पनि जीर्ण सडकको मर्मत तथा स्तरोन्तिका लागि आग्रह गरे । सांसद अच्युतप्रसाद मैनालीले देशभरिका पुलको अवस्था कमजोर रहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै मर्मतका लागि आग्रह गरे ।
सांसद डा अमरेशकुमार सिंहले देशको विभिन्न भागमा आत्महत्या गर्ने क्रम बढिरहेको सन्दर्भमा उच्चस्तरीय न्यायिक समिति गठन गरी सो नदोहोरिने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अम्बिका बस्नेतले गएराति काठमाडौँ वडा नं ६ मा आगलागीका कारण करोडाँैको क्षति भएको जानकारी गराउँदै उचित क्षतिपूर्ति र राहतका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद अमृतलाल राजवंशीले सुकुम्बासीको समस्या गम्भीर हुँदै गएको सन्दर्भमा भूमि आयोगको काम प्रभावकारी रुपमा अघि बढाउन माग गरे । सांसद अमृतादेवी अग्रहरिले संसद्लाई राष्ट्र समृद्धिको चिन्तन गर्नुपर्ने थलोका रुपमा विकास गर्नुपर्ने उल्लेख गरे ।
सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गरे । सांसद अशोककुमार चौधरीले इटहरी अस्पतामा सम्बन्धित विज्ञ चिकित्सकको कमी भएकाले जनताले उपचारमा दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
FACEBOOK COMMENTS