बीमा व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?
बीमा व्यवसाय आजको दिनमा ठिकै छ । गत वर्षको हिसाबमा हेर्ने हो भने थोरै खस्केको अवस्था छ । यस वर्षको ५–६ महिनाको डाटाले त्यही देखाउँछ । बजारमा आएका आर्थिक मन्दीले पनि यो समस्या आएको हो । समग्रमा भन्नु पर्दा ठिकै छ । १९ वटा जीवन बीमा कम्पनीबाट १४ वटामा झर्ने निश्चित नै छ । अझै यो सङ्ख्या १२–१३ वटामा आउने सम्भावना पनि देखिन्छ । जसले कम्पनीहरू अझ सशक्त पनि हुन्छन् र विश्वसनीयता पनि बढ्दै जान्छ ।
जीवन बीमाको ओभरअल जीडीपीको पेनिटेसन झन्डै २.८६ प्रतिशत छ, त्यसैगरी ३८ प्रतिशत आम नागरिक मात्र जीवन बीमामा आवद्ध भएका छन् । यो डाटालाई राम्रै भन्नु पर्छ । अझै पनि ६२ प्रतिशत नागरिक जीवन बीमाको पहुँचबाहिर छन्, जुन भोलिको दिनमा बीमामा आवद्ध हुने नै छन् । जीवन बीमाको चेतना बढ्दै गएको छ, तर पर्याप्त छैन । आज पनि बीमा गर्नुपर्छ भन्ने अन्तिम च्वाइस हुन्छ । सबै कुरा भ्याएपछि अन्तिममा बीमा गरिन्छ, त्यो पनि अरुले भनेर फोर्सफुल्ली । एक लेभलको जनचेतना भए पनि जुन लेभलमा हुनु पर्ने हो त्यो बाँकी नै छ । आगामी दिनमा स्वस्फूर्त बीमा गर्ने दिन आउने नै छ, जसका लागि हामीहरूले अलि मिहेनत गर्नु पर्छ ।
बीमा व्यवसायमा समर्पणलाई कसरी बुझ्ने ?
कुनै पनि बीमितले एउटा लेबलमा गएर आगामी दिनमा बीमा शुल्क तिर्न नसक्ने अवस्थामा बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्थामा बीमा बन्द गर्नु नै सरेण्डर (समर्पण) हो । नेपाल बीमा प्राधिकरणले पनि तीन वर्षपछि सरेण्डर (समर्पण) गर्न सकिने प्रावधान राखेको छ । विश्वको बीमा बजारलाई हेर्दा १०–१५ प्रतिशत सरेण्डर (समर्पण) लाई सामान्यरूपमा लिने गरिन्छ । यसलाई बीमालेख संख्याको प्रतिशत मात्र हेरेर हँुदैन, बीमा शुल्कको आधारमा पनि हेर्नुपर्ने हुन्छ । हामी बीमालेख संख्या १०–१५ प्रतिशत हेरेर मूल्याङ्कन गरिन्थ्यो तर आजभोलि ठूला बीमाङ्क रकमको पनि सरेण्डर (समर्पण) हुन थालेकाले यसलाई पुनःविचार गर्नुपर्ने भएको छ । कुनै पनि बीमा गर्दैगर्दा त्यो बीमामा चाडै सरेण्डर (समर्पण) हुने गन्ध आउँछ भने त्यो चाहिँ प्रायोजित हुन सक्छ ।
सरेण्डर (समर्पण) हुने धेरै कारणहरू छन् । जस्तै बजारमा आएको मुद्रास्फितीले, जुन अहिले हामीले देखिरहेका र भोगिरहेका छौँ । बैंक, सहकारीहरूको १८–१९ प्रतिशत ब्याज तिर्नु भन्दा बीमा सरेण्डर (समर्पण) गरेर तिर्ने गरिन थालेको छ । अर्को कुरा कुनै पनि कम्पनीको बीमा योजना त्यति राम्रो छैन भने सरेण्डर (समर्पण) गरी अर्को कम्पनीको राम्रो बीमा योजना खरिद गर्ने गरिन्छ । तपाइँले कुनै पनि बीमा गर्दा ३–४ वर्षपछि सरेण्डर (समर्पण) गर्छु भनेर गरेको हुँदैन । मानौँ १५ वर्षको बीमा छ भने १५ वर्षै निरन्तर सक्रिय हुनुपर्छ । पहिलो वर्षमै ५०–५५ प्रतिशत खर्च बीमा ल्याउन भएको हुन्छ । कम्तिमा ६–७ वर्ष बीमा योजना चालू रहेन भने सो बीमाबाट बीईपीमा पनि आउन गाह्रो हुन्छ । सरेण्डर (समर्पण) राम्रो कुरा त अवश्य होइन । कुनै बीमितलाई सुहाउँदो बीमा नदिदा पनि सरेण्डर (समर्पण) हुने गर्दछ । उसको आम्दानीको स्रोतले थेग्न सक्ने हुन पर्छ ।
जस्तै उसले १५ वर्षे बीमा योजना खरिद गर्दा पहिलो वर्षमात्र हेरेर हुँदैन, १५ वर्षसम्म नै कसरी बीमा शुल्क भुक्तानी गर्दछ भन्ने पनि विचार गर्नु पर्दछ । आम्दानीको स्रोतले निरन्तर बीमा शुल्क तिर्न नसक्ने बीमा योजना खरिद गर्दा पनि सरेण्डर (समर्पण) बढ्ने गर्दछ ।
जीवन बीमामा सरेण्डर (समर्पण) लाई समस्याको रूपमा लिइन्छ, यसलाई न्यूनीकरण गर्न के गर्नु पर्दछ ?
सरेण्डर (समर्पण) हँुदै नहुने भन्ने हुँदैन । संसारमै १०–१५ प्रतिशत सरेण्डर (समर्पण) लाई सामान्य रूपमा लिइन्छ । यसलाई बीमालेख र बीमा शुल्क रकमका आधारमा हेर्नुपर्ने हुन्छ । कहिलेकाहीँ बीमालेख १० प्रतिशत भई राख्दा बीमा शुल्क रकम अनुसार १६ प्रतिशत वा २० प्रतिशत वा ५० प्रतिशतसम्म पनि सरेण्डर (समर्पण) हुन सक्छ । त्यो एक लेभलको प्ल्याण्ड सरेण्डर (समर्पण) हुन सक्छ । सधैं अर्को पक्ष सरेण्डर (समर्पण) पक्षलाई मात्र दोष दिएर हुँदैन । पहिलो कुरा त तपाइँका बीमा योजनाहरू ठीक हुन पर्छ ।
जीवन बीमा कम्पनी र नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण मिलेर धेरै कुरा गर्नु सकिन्छ, जुन कुरा नेपाल बीमा प्राधिकरणले सुरु पनि गरिसकेको छ । दुई वर्षको सरेण्डर (समर्पण) अवधिलाई तीन वर्षमा पु¥याइएको पनि छ । अबका दिनमा साँच्चै सरेण्डर (समर्पण) लाई न्यूनीकरण गर्ने हो भने दुई वर्षलाई तीन वर्ष पु¥याएर मात्र प्रयाप्त हुँदैन ।
सरेण्डरले न कम्पनीलाई राम्रो गर्दछ न त बीमितलाई नै राम्रो गर्दछ । त्यसैले सरेण्डरको अवधिलाई प्रोडक्टको टेक्निकल नोटसँग टाइअप गर्नु पर्दछ । अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने पनि सरेण्डर गर्दा सरेण्डर चार्ज लगाउने गरिन्छ । यसलाई नियमनकारी निकायले केही हदसम्म गर्न सुरु गरिसकेको छ, अब कम्पनीहरूले पनि बीमा योजना तयार गर्दा सोच्नु पर्ने बेला आएको छ । कुनै बीमा तीन वर्षको सरेण्डर (समर्पण) गर्न पाउने अवधि सकिना साथ सरेण्डर (समर्पण) गर्ने गरी बीमा गराउनु भन्दा सो बीमालाई इग्नोर गर्नु नै बेस हुन्छ ।
हालको आर्थिक मन्दीले बीमा बजारलाई कस्तो असर गरेको छ ?
आर्थिक मन्दीले सबै क्षेत्रलाई प्रभाव पारेको छ, जसमा बीमा क्षेत्र अछुतो रहने कुरै भएन । नेपालमा बीमा गर्ने भनेको ‘लस्ट प्रायोरिटी’मा पर्दछ । अहिले मंसिर–पुस महिनाकै आँकडा हेर्ने हो भने पनि विगत वर्षहरू भन्दा ३०–३५ प्रतिशतले सेडब्याक छ र यो भनेको आर्थिक मन्दीकै प्रभाव हो । कहिलेकाहीँ एउटा कम्पनीबाट सरेण्डर (समर्पण) गरेर अर्को कम्पनीमा बीमा गर्ने वा एउटा योजनाबाट सरेण्डर (समर्पण) गरेर अर्को बीमा योजना लिएर आफ्नो व्यवसायलाई सन्तुलन कायम गर्न प्रयास पनि नभएका होइनन् । ओभरअल मार्केट नै सेडब्याक भएको बेलामा बीमा व्यवसाय पनि सेडब्याक हुनु स्वाभाविक नै हो जस्तो लाग्छ ।
बीमा योजनाहरू कसरी तयार हुन्छन् ?
नेपालमा जतिखेरदेखि बीमा कम्पनीहरू सुरु भए, एकले अर्काको बीमा योजनाहरू हेर्ने र त्यही अनुसारको ल्याउने प्रवृत्ति भयो । बीमा योजनाहरू ल्याउँदा मार्केटमा विश्लेषण कमै हुन्छ । अहिले आएर नियमनकारी निकायले पनि इनोभेटिभ प्रोडक्टलाई ल्याउन परिपत्र गरेको अवस्था छ । त्यसमा कतिपय कम्पनीहरूले गर्न सुरु गरेका छन् । एउटा प्रोडक्ट आउँदा त्यो प्रोडक्ट कस्तो खालको ल्याउने, त्यसको प्राइसिङ कस्तो हुने, त्यसमा कस्ट कति लाग्ने, बोनस कति राख्ने र प्रोफिट पनि कति राख्ने सबै कुरा निर्धारण गरिएको हुन्छ । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय गरेको राम्रो कुरा भनेको प्रोफिट टेस्टिङ हो । त्यो चाहिँ प्रोडक्टमा जहिले पनि ल्याउनै पर्ने हुन्छ, कति प्रोफिट त ? लाइफ इन्स्योरेन्समा जहिले पनि दुई वटा प्रोफिट हुन्छ, इन्भेष्टमेन्ट प्रोफिट जुन लगानी गरेबापत प्राप्त हुने प्रतिफल हो । अर्को अन्डरराइटिङ प्रोफिट, जुनचाहीँ एजम्सनको आधारमा निर्धारण हुन्छ ।
धेरै लामो प्रक्रिया पूरा गरेर ल्याइएका बीमा योजनाहरूमा जोखिम वा घाटाको सम्भावना हुन्छ ?
हामीहरूले कुनै एक प्रोडक्ट डेभलप गर्दा मार्केट एनालाइसिस गरेर गर्ने गर्दछौँ । हाम्रा बीमित, अभिकर्ताहरूलगायतको राय सुझावका आधारमा म्यानेजमेन्टले छलफल गरी त्यो अनुसारको प्रोडक्टका लागि एक्चुरीलाई दिइन्छ । एक्चुरीले सबै कुराहरू जस्तै कस्ट, इन्सेन्टीभ, कमिसन, बोनस, प्रोफिटलगायत कुराहरू हाल्छ । सबै कुराहरूको आधारमा रही मार्केटमा प्रतिस्पर्धाको एनालाइसिस गर्दछौँ । एक्चुरीबाट आएपछि हामी हाम्रो बोर्डमा राख्छौं र नेपाल बीमा प्राधिकरणमा पनि पठाउँछौं । नेपाल बीमा प्राधिकरणको कन्सल्टेन्ट एक्चुरीबाट ठीक छ भने पछि मात्र यसले मुर्त रूप लिन्छ ।
पुराना बीमा योजनाहरूमा किन घाटा हुन्छ ?
डेड दुई दशकअघि बनेका पोलिसीमा तत्कालीन अवस्थाको एउटा एजम्सन हुन्छ । सो समयमा ठीक हुन्छ तर सधैँ एउटै एजम्सनले काम गर्दैन । त्यसैले टाइम टाइममा प्रोडक्टहरू परिवर्तन गर्नुपर्ने हुन्छ । मानौँ १५ वर्षअघि एउटा पोलिसिमा मोर्टालिटीको एउटा रेट होला, तर आज मोर्टालिटीको रेट घट्ने वा बढ्नेबित्तिकै त्यो एजम्सनले त काम गर्दैन । त्यो बेला ६ प्रतिशत इन्सेन्टिभ राखेको पोलिसीमा आजको दिनमा १८ प्रतिशत लोड गरेपछि त त्यो कस्ट एजम्सन मिल्दैन अनि प्रोडक्ट घाटामा जान्छ ।
अर्को पाटो भनेको प्रोडक्ट डेभलप गर्दा एभरेज इल्डको पनि एजम्सन गरिएको हुन्छ । बनाउँदा एक किसिमले ९ प्रतिशत वा १० प्रतिशत वा ११ प्रतिशत भनेर बनाइएको हुन्छ । एक वर्ष एभरेज इल्ड तलमाथि पर्दा धेरै फरक नपर्ला तर ओभर द पिरियड अफ टाइम ९ प्रतिशतबाट ७ प्रतिशत वा ६ प्रतिशतमा झ¥यो भने पनि एजम्सन मिल्दैन र प्रोडक्ट घाटामा जान्छ । टाइम इन अगेन प्रोफिटाविलिटीको टेस्टिङ एजम्सनको बेसमा गर्नुपर्छ, जुन कुरा गत वर्षदेखि नै नियमनकारी निकायले पनि भन्दै आएको छ ।
जीवन बीमा कम्पनीहरूले सुरुका वर्षहरूमा शेयरधनीहरूलाई बोनस वितरण गर्न नसक्नुको कारण के हो ?
लाइफ इन्स्योरेन्स कम्पनी अलिकति टेक्निकल विषय हो । सुरुका वर्षहरूमा कम्पनीको एक्युजिसन कस्ट बढी हुन्छ । कुनै पनि बीमाको प्रिमियममा ५०–५५ प्रतिशत एक्युजिसन कस्ट हुन्छ । दोस्रो वर्षबाट घट्दै जाने हो । जसमा ५, ६ वा ७ वर्ष भएपछि स्टेबल रिटर्न दिन थाल्दछ । यो नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा हेर्नुभयो भने पनि यही छ ।
हाम्रै कम्पनीको पनि पहिलो वर्ष ११ करोडको प्रिमियम कलेक्सन थियो भने दोस्रो वर्ष बढ्दै गयो, तेस्रो वर्ष, चौथो वर्ष अझ बढ्दै गयो । अब टोटल प्रिमियम र रिन्युअल प्रिमियम आउँदै गर्दा लाइफ फण्ड पनि बढ्दै जान्छ । ८–१० वर्षमा एक लेवलको लाइफ फण्ड हुन्छ र सो लाइफ फण्डबाट प्राप्त हुने सरप्लस पनि बढी आउन थाल्दछ । त्यसपछि सहजै शेयरधनीहरूलाई बोनस दिन थाल्दछ तर सुरुका वर्षहरूमा एक्युजिसन कस्टले गर्दा गाह्रो हुन्छ ।
जीवन बीमाहरू शहर केन्द्रित देखिन्छन्, गाउँका दूरदराजमा जान सकेका छैनन, यसको मुख्य कारण चाहिँ के हो ?
हाम्रो कम्पनीको झण्डै १०० वटा शाखामा ४०–५० वटा शाखा साना साना गाउँमै छन् । गाउँमा बीमाको जनचेतना फैलाउन पनि समय लाग्ने हुन्छ तर नियमनकारी निकायले विगत २ वर्षमा जनचेतना अभिवृद्धिमा राम्रो काम गरिरहनुभएको छ । त्यसैले कम्पनीहरू पनि गाउँ फोकस हुन थालेका छन् । सुरुमा हाम्रै कम्पनी २०–२२ वटा शाखामा थियौँ भने आज १०० मा छौँ । आगामी दिनमा अवश्य पनि दूरदराजसम्म पुग्ने नै छौँ, तर अफिस नै अपरेट गर्न नसक्ने वा शाखा खोलेको औचित्य पुष्टि गर्न नसक्ने अवस्थामा भने सोच्नै पर्ने हुन्छ ।
FACEBOOK COMMENTS