- सन्तोष कोइराला
प्रमुख कार्यकारी अधिकृत (सीईओ)
माछापुच्छ्रे बैंक लिमिटेड
तपाईंको नेतृत्वमा माछापुच्छ्रे बैंकले हासिल गरेका प्रमुख उपलब्धिहरू के–के हुन् ?
सुशासनमा विश्वास राख्ने माछापुच्छ्रे बैंक सुशासन नेपाल राष्ट्र बैंकले जारी गरेका नीतिनियम र निर्देशनहरू पूर्णरूपमा पालना गर्दै अघि बढिरहेको छ । हामीले औसतमा ९% सम्म कहिले नगद त कहिले बोनस शेयरको रूपमा दिँदै आएको छ । डिजिटलमा राम्रो ग्रोथ छ, नेपालकै भविष्य डिजिटलमा छ भन्ने हिसाबले डिजिटल्ली फोकस्ड नयाँ–नयाँ प्रडक्ट पनि हामीसँग छन् । खराब कर्जा अर्थात् नन पर्फमिङ एसेट (एनपीए)को लेभल झण्डै ४.५७ छ । यो औसतभन्दा तल हो ।
समग्रमा भन्नुपर्दा माछापुच्छ्रे बैंक क्यापिटलका हिसाबले सबैभन्दा सानो हो, किनकी अरु धेरै बैंकहरूले मर्जको बाटो अपनाएर ठूलो बनाए तर हामीले त्यो बाटो अपनाएनौँ । क्यापिटलको आकार सानो भए पनि बैंकका अन्य सबै पारामिटरहरू (सूचक) हेर्दा हामी अब्बल छौँ । रिटर्न इक्युटीमा हामी माथि छौँ । हामीले हेर्ने कुरा त्यही नै । कोभिड महामारीले बैंकिङ क्षेत्रका साथै नेपालको अर्थतन्त्रलाई नै ‘डाउन फल’ गरायो । त्यसकारण विगतमा जस्तो रिटर्न दिन नसके पनि ‘रिजनेबल’ रिटर्न दिँदै आइरहेको ‘नन एग्रेसिभ’ बैंक हो । माछापुच्छ्रे शान्त तरिकाले प्यासन राखेर अघि बढिरहेको बैंक हो । यो आफैंमा चुस्तदुरुस्त पनि छ ।
तपाईंले यो बैंकको कार्यकारी नेतृत्वको जिम्मा लिँदै गर्दा निर्धारण गर्नुभएको प्राथमिकताहरू के–के थिए ? ती प्राथमिकता वा रणनीतिहरू कार्यान्वयनको स्थिति के छ ?
मैले सीईओ भएर माछापुच्छ्रे बैंकमा काम गरेको करिब ६ वर्ष हुन लाग्यो, यो दोस्रो कार्यकाल हो । २०७७ साल चैत ११ गते मैले नियुक्ति पाएको थिएँ । नियुक्तिको पत्र बुझ्न पाउँदा नपाउँदै सोही दिनदेखि कोरोना महामारीबाट जोगिन/जोगाउन मुलुकमा ‘लकडाउन’ भयो । त्यसकारण त्यो दुई वर्ष काम गर्नै पाइएन भन्दा पनि हुन्छ । तर पनि त्यस समयमा बैंकलाई डिजिटल्ली फोकस्ड भएर अगाडि बढाइयो ।

रेमिट्यान्सहरूमा हामी राम्रो ग्रोथ गर्यौँ । मिडिल इस्टमा प्राय: हाम्रो सञ्जाल सबैतिर थियो । अरु धेरैवटा देशहरूसँग रेमिट्यान्सको विङ्सहरूलाई जापान, कोरियादेखि साइप्रस, टर्कीलगायत देशहरूबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन हामीले राम्रो वर्कआउट गर्यौँ । मैले अघि पनि भनेँ, माछापुच्छ्रे बैंक एग्रेसिभ छैन । रियल इस्टेट र शेयर कर्जाको मात्रा कम छ । त्यसकारण, कोभिड महामारीको बीचमा पनि हामीलाई त्यति धेरै समस्या परेन । यी सबैलाई हेर्दा माछापुच्छ्रे बैंक ‘कन्सिसट्यान’ रूपमा अगाडि बढिरहेको बैंक हो । यसैगरी सुशासनको मुद्दामा पनि हामीले एकदमै ध्यान दिएर काम गर्यौँ । त्यसैले कुनै पनि नियामक निकायबाट कारबाही वा त्यस्तो कुनै घटना हामीले बेहोर्न परेको छैन र अहिले पनि सुशासनको मुद्दामा हामी गम्भीर र सचेत हुँदै अघि बढिरहेका छौँ ।

क्यापिटल एड्भोकेसीका लागि भनेर डिबेञ्चर ल्यायौँ । प्राथमिक पुँजीमा केही तनाव सृजना भए पनि व्यवस्थापन गर्दै अघि बढ्यौँ । हाम्रा शाखा कार्यालयहरूलाई नाफामा लैजानका निम्ति धेरै कर्वआउट गर्यौँ र सबै शाखाहरू व्यवस्थित गरी नाफामा लगिएको छ । ह्युमेन रिसोर्सको व्यवस्थापनमा पनि मैले प्राथमिकताका साथ काम गरेँ । बैंक भनौँ वा कुनै पनि संस्थाको मेरुदण्ड ह्युमेन रिसोर्स हो । त्यसलाई समय अनुकुल ग्रोथ गर्ने, रिक्रुटमेन्ट गर्ने, इन्सेन्टिभ दिनेलगायत थुप्रै काम गरियो । त्यसकारण अहिले हाम्रोमा स्टाफको त्यस्तो धेरै टर्नओभर पनि छैन ।

अर्को, सिस्टममा पनि हामीले राम्रोसँग ध्यान दिएका छौँ । म आउनु भन्दा अगाडि बैंकले धान्नै नसक्ने खालको महङ्गो सफ्टवेर ‘टेमेनोसको टी२४’ अपनाएको थियो । त्यसलाई फिनाकलले प्रतिस्थापन गरी बैंकको खर्च घटाएइएको छ । यस्तै, पूर्वाधार विकासको क्षेत्रमा भैरहवामा भवन निर्माणका साथै पुनर्निर्माणको धेरै काम गरेका छौँ । ग्राहकलाई माछापुच्छ्रे बैंकभित्र छिर्दा ‘कम्फर्टेबल’ महसुस हुने वातावरण बनाएका छौँ । मेरो कार्यकाल अब एक वर्षजति बाँकी छ । अझै धेरै कामहरू गर्दै, आगामी दिनमा पनि कुनै एग्रेसनमा नगइगकन उच्चस्तरको अब्बल बैंक बनाएर हस्तान्तरण गरेर विदा हुने लक्ष्यमा छु ।

अहिलेको परिस्थितिमा ‘एग्रेसन’बिना ग्राहकलाई आकर्षण गर्न सकिन्छ त ?

अहिले मान्छेहरूले एग्रेसन भन्दा पनि स्टेबल संस्थाहरूलाई बढी रुचाइरहेको मैले पाएको छु । हामी एग्रेसिभ नहुने भनेको ग्राहकमैत्री नहुने भन्ने अर्थ होइन । स्टेबल पनि एक प्रकारणको आकर्षण नै हो । जसले गर्दा माछापुच्छ्रे बैंकमा निक्षेप र कर्जा (करिब १७ अर्ब रुपैयाँँ) को ग्रोथ राम्रो छ । डिजिटल्ली फोकस्ड भएकाले अन्य बैंकमा भन्दा हामीकहाँ नै बढी सहज महसुस गरिरहनुभएको छ । सबैभन्दा राम्रो पक्ष व्यक्तिगत डिपोजिट करिब ८०% जति छ । छरिएर रहेको सानो–सानो पुँजी हामीले एकत्रीकृत गरिरहेका छौँ । जसका कारण कुनै पनि ‘क्राइसिस’ हामी सहजै व्यवस्थापन गर्नसक्ने स्थितिमा छौँ । ताप्लेजुङदेखि दार्चुलाको अपि हिमाल व्याससम्मै शाखाहरू फैलिएका छन् । हाल कूल १६५ वटा शाखा कार्यालयमार्फत हामीले ५० वटा जिल्लामा १८ लाख ग्राहकलाई सेवा दिँदै आएका छौँ । नेपाल राष्ट्र बैंक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, विभिन्न विद्यालयहरू र संघसंस्थाहरूका ‘स्यालरी एकाउन्ट’ हामीसँग छ । यसले माछापुच्छ्रे बैंकको आधार बलियो रहेको देखाउँछ । हामीले स्टेबलको बाटो रोज्दा तुलनात्मक रूपमा ‘डिफल्ट’ कमी हुँदै गएका छन् । तनाव सबैलाई छ, तर हामीलाई अत्यन्तै कम छ ।
‘क्राइसिस’ को कुरा गर्दा बजारमा विभिन्न समूहहरूले विभिन्न समयमा वाणिज्य बैंकहरू डुब्दैछन् भनेर हल्ला गर्ने र निक्षेपकर्ताहरूलाई आतङ्कित पार्ने गरेको पनि देखिन्छ । यो हल्ला किन भइरहेको छ ? त्यो हल्लाहरूको हावा बैंकसम्म आइपुग्ने सम्भावना कत्तिको रहन्छ ?
यस्ता हल्लाहरू सुनेपछि हामीले पनि धेरै लामो समयसम्म त्यसलाई हेरिरह्यौँ । हल्ला गर्नेहरू दस्ता बनाएरै अघि बढेको र कतिपय शाखा कार्यालयहरूमै प्रवेश गरेर अराजक गतिविधि समेत गर्न थालेपछि हामी (बैंक) हरूमा केही त्रासहरू देखिएका थिए । तर, अबचाहिँ नेपालमा त्यस्तो खालको अवस्था टरिसकेको छ । यदि केही समस्या आइहाल्यो भने पनि नेपालका वाणिज्य बैंकहरू ‘हाइली रेगुलेटेड’ भएका कारण सामान्य ‘क्राइसिस’ धान्न सक्ने क्षमताका छन् । कोही आत्तिहाल्नुपर्ने स्थिति मैले देख्दिनँ । आवश्यक रेगुलेशन नभएकै कारण नेपालका सहकारीहरूमा समस्या देखिएका हुन् बैंकमा त्यो सम्भावना रहँदैन ।
ऋण मिनाहाको कुरा गरेर अहिले पनि ऋणीहरूलाई अलमल्याउने काम भइरहेको पाइन्छ । ऋण मिनाहा कत्तिको सम्भव, सहज र पत्यारिलो कुरा हो ?
ऋण लिइसकेपछि जसोतसो तिर्नैपर्छ भन्ने कुरामा हाम्रा ऋणीहरू जानकार हुनुहुन्छ । तर, कसैले फैल्याएको हल्लाका कारण कतिपय ऋणीहरू हो कि क्या हो भनेर केही समय अलमलिनुभयो । व्यक्तिगत स्वार्थ र राजनीतिका निम्ति त्यस्ता हल्ला फैल्याएको कुरा उहाँहरूले बुझ्न थालेपछि क्रमश: ऋण तिर्ने बाटोमा उहाँहरू हुनुहुन्छ । ऋण मिनाहाको आशाले अरुको लहैलहैमा लाग्नुभएका कतिपय ऋणीहरू उल्टै ब्याजको भारी बढेका कारण दु:खी हुनुहुन्छ । त्यसकारण कसैको उत्पट्याङ कुरामा लागेर आफ्नो व्यवहार र असल ऋणीको छवि नबिगार्न उहाँहरूलाई मेरो सुझाव छ । कुनै चमत्कारै भएर ऋण मिनाहा भए पनि तपाइँले जीवनमा आफ्नो व्यवसाय बढाउन अरु थुप्रै ऋण लिनै बाँकी छ । त्यतिबेला तपाईँ फेरि बैंकमै आउनुपर्ने छ । त्यसका लागि पनि तपाईँले आफ्नो व्यवहार बिगार्न हुँदैन । ऋण मिनाहा सम्भव, सहज र पत्यारिलो कुरा हुँदैहोइन, यो त भ्रम मात्रै हो ।
बैंकले अपनाएको महङ्गो शुल्कको सफ्टवेर हटाएर खर्च त घटाउनुभएछ, तर सस्तो मूल्यको सफ्टवेरमा आइलाग्ने सुरक्षा खतराले ग्राहकको विश्वास पनि त घटाउला नि ?
त्यसलाई हामीले गलत तरिकाले बुझ्न हुँदैन । फिनाकल सफ्टवेयर अहिले नेपालमा करिब १६–१७ वटा ठूला बैंकले प्रयोग गरिरहेका छन् । सस्तो हुँदैमा सुरक्षा खतरा हुन्छ भन्ने हुँदैन यो अपडेटेड सफ्टवेयर हो र यसले अरूभन्दा बढी नै सुरक्षा र विश्वास प्रदान गर्छ । यो सफ्टवेयर हामीले मात्र होइन विदेशका धेरै प्रतिष्ठित बैंक तथा वित्तीय संस्थाहरूले पनि प्रयोग गरिरहेका छन् । ‘टेमेनोसको टी२४’ पनि आफैंमा महङ्गो त होइन, तर वार्षिक मर्मत शुल्कचाहिँ बढी थियो ।
ब्याजदर घटबढ, तरलता सङ्कट वा कर्जा असुली जस्ता समस्याहरूको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
कुनै बेला तरलताको समस्या आयो, ब्याजदर बढेर धेरै माथि पुग्यो । मार्केटले ड्राइभ गर्ने कुरा हो, डिपोजिट भन्दा लोनको आकार ठूलो हुन थालेपछि अलिकति समस्या आएको थियो । त्यसलाई केन्द्रीय बैंकले समयमै नियन्त्रण गरेको भएर ठूलो समस्या सृजना हुन पाएन । माछापुच्छ्रे बैंकको सन्दर्भमा हामी त्यसरी गएनौँ, तर सिस्टमले त ल्यायो नै । ११–१२ प्रतिशतसम्म डिपोजिट लिने १४–१५ प्रतिशतसम्म लोनको रेट बनाउने सबै बैंकहरूले काम गरे । यसो भइसकेपछि बैंकर संघले एउटा समझदारी गरेर बजारलाई नियन्त्रण गर्ने प्रयत्न हामीले गरेका थियौँ । तर, अहिले त्यस्तो अवस्था छैन, व्याजदरहरू घटेको छ, लोनको डिमाण्ड छैन, यो सबै समयको खेलो पनि हो । बजारले नियन्त्रण गर्ने कुरा हो । यद्यपि बैंकहरू तनावमुक्त छैनन् किनकि पुँजी परिचालन हुन सकरिहेको छैन ।
तुलनात्मक रूपमा हेर्दा माछापुच्छ्रे बैंकमा गैरबैंकिङ सम्पत्ति धेरै देखिँदैन । जति छ त्यसको व्यवस्थापन कसरी भइरहेको छ ?
गैरबैंकिङ सम्पत्ति बढ्नु स्वाभाविक कुरा हो । हाम्रोमा पहिला १४० करोड जति पुगेको थियो अहिले सबै म्यानेज गरेर ९० करोड भन्दा तल झारेका छौँ । हाम्रो चुक्ता पुँजीको आकार र कर्जाको आकार हेर्दा यसलाई पनि कम भन्नचाहिँ मिल्दैन ।
गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनलाई सहज बनाउन ल्याइएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ को योजनाबारे के धारणा छ ?
योजना आउनु सकारात्मक भए पनि यसको मोडालिटी क्लियर छैन । तर, जुन मोडालिटीमा गए पनि यो हामीलाई आवश्यक छ । विभिन्न समयमा आइपर्ने समस्याहरू समाधानका लागि यसले बैंकहरूलाई सहजीकरण गर्ने विश्वास गरिएको छ । तर, यो नामको मात्र नभइ अधिकारसम्पन्न हुनुपर्छ । यो बैंकको सम्पत्ति किनेर बैंकलाई फ्रेस बनाउने कम्पनी हो, तर अहिले बैंकले भोगिरहेको समस्या भोलि यो कम्पनीले भोग्न थाल्यो भने दीर्घकालीन समाधान निस्किँदैन । त्यसकारण सर्वाधिकारसम्पन्न हुनुपर्छ ।
माछापुछ«े बैंकले वित्तीय पहुँच विस्तारका लागि के–कस्तो भूमिका निर्वाह गर्दै आएको छ ?
दूरदराजसम्म बैंकिङ सेवा दिइरहेको बैंकले यस विषयमा नलाग्ने भन्ने कुरै आउँदैन निरन्तर लागिरहेका छौँ । दार्चुलामा मात्रै हाम्रा चारवटा शाखा छन् । अपि र ब्यास हिमालसम्म शाखा सञ्चालन गरिरहेको बैंकले ग्रामीण क्षेत्र मात्र होइन बिकटसम्मै वित्तीय पहुँच पुर्याइरहेको पुष्टि हुन्छ । तिनै शाखाहरूमार्फत विभिन्न कार्यक्रमहरू गर्छौँ, सामाजिक सुरक्षा भत्ता वितरण, जुन ठाउँमा बचत त्यही ठाउँबाट कर्जा सुविधालगायत सेवा प्रवाह गर्दा बैंकिङ शिक्षा आवश्यक हुन्छ हामीले दिइरहेका छौँ । फाइनान्सियल इन्क्लुजन र बैंकिङ लिट्रेसीको कुरामा त नेपाल राष्ट्र बैंकले नै खर्च र कार्यक्रमहरू तोकिदिएको भएर ती काम गर्न सहज र अनिवार्य भइरहेको छ । विभिन्न प्रविधिको विकास र प्रयोग बढेसँगै पहिला भन्दा अहिले मानिसहरू धेरै प्रशिक्षित भइरहेको हामीले पाएका छौँ । अझ यसलाई विद्यार्थीहरूको पाठ्यपुस्तकमै वित्तीय साक्षरता, डिजिटल बैंकिङ, ट्रान्जेक्सनलगायत विषयहरू समावेश गरेर अगाडि बढाउन पाए निक्कै प्रभावकारी हुन्थ्यो ।
दूरदराजसम्म शाखा खोली सेवा दिएका छौँ भन्ने बैंकहरूले तिनै शाखाहरू बन्द गर्न पाउँ भन्दै राष्ट्र बैंकमा निवेदन दिन थालेका छन् त ?
शाखा सञ्चालन गर्न गाह्रो भन्दा पनि निश्चित ठाउँमा चार/पाँचवटा शाखा छन् भने ‘कन्सल्टेशन’ गर्ने सुविधा दिनुपर्छ भनेर कुरा उठाइएको हो । जुन ठाउँका जनसङ्ख्यालाई १–२ वटा शाखाले नै प्रभावकारी सेवा उपलब्ध गराउन सकेका छन् भने त्यही ठाउँमा अरु ३–४ वटा शाखा किन थप्ने, किन खर्च बढाउने ? यो विषय भर्खरैमात्र आएको हुनाले राष्ट्र बैंकले त्यसबारे आफ्नो धारणा दिइसकेको अवस्था छैन । यद्यपि, फाइनान्सियल इन्क्लुजन र बैंकिङ लिट्रेसीको कुरामा भने शाखाहरू धेरै हुँदा पनि फाइदै हुने भयो । किनभने बैंकहरू आफैं बिजनेस खोज्ने पनि गर्दछन् ।
कर्पोरेट सोसल रेस्पोन्सबिलिटी (सीएसआर) को रकम कहाँ–कहाँ कसरी खर्च गर्दै आउनुभएको छ । त्यसबाट प्राप्त लाभहरू के–के हुन् ?
यसमा हामीले धेरै चल्ने ठाउँ छैन, यसका सीमाहरू राष्ट्र बैंकले तोकिदिएको छ । त्यसैअनुसार काम गरिरहेका छौँ । सातवटै प्रदेशमा बराबरी वितरण गर्नुपर्छ, पाँच प्रतिशतभन्दा धेरै एउटै ठाउँमा खर्च गर्न पाइँदैन । माछापुच्छ्रे बैंकमा त्यससम्बन्धी कार्यका लागि छुट्टै सीएसआर विभाग बनाएका छौँ । खानेपानी, शौचालय, अस्पताल, कलेजलगायत क्षेत्रमा हामीले विशेष केन्द्रित गरेर सीएसआर गतिविधि अगाडि बढाइरहेका छौँ । गंगालालमा आईसीयू र बीर अस्पतालमा कार्डियाक विभागमा सेटअप, कलेजहरूमा भवन निर्माणलगायत काम माछापुच्छ्रे बैंकले गर्दै आएको छ ।
राष्ट्र बैंकको सीमा त छँदैछ, सीएसआरको रकम खर्च गर्ने बेलामा स्थानीय समुदाय र सरकारहरूले कत्तिको दबाबस सृजना गर्छन् ?
दबाबै भनेर केही आएको छैन । तर, हाम्रो वा मेरो ठाउँमा खर्च गरिदेउ न भन्नेहरूचाहिँ हुनुहुन्छ, जुन स्वाभाविक हो । उहाँहरूलाई हामीले हाम्रो सीमाका विषयमा जानकारी गराउने गरेका छौँ ।
बाफिया संशोधनमा बैंकर र व्यवसायी छुट्याउनुपर्छ भन्ने आवाज उठिरहेको पाइन्छ । यसबारे तपाइँको धारणा के हो ?
हामीजस्तो व्यवस्थापनको तहमा बस्ने व्यक्तिहरूले यो प्रश्नको जवाफ दिनु त्यति सान्दर्भिक नहोला । तर, यस विषयमा मेरो नितान्त व्यक्तिगत विचारचाहिँ बैंकर र व्यवसायी छुट्टयाउनुपर्छ भन्ने छ, यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । तर, नेपालको सन्दर्भमा त्यति सहज छैन । किनभने बैंक खोल्ने बेलामा एउटै मान्छेले १५% सम्म शेयर हाल्न पाउने भनेर खोलाइएको छ । अहिले १% भन्दा बढी शेयर लिएकाले कर्जा लिन नपाउने भन्यौँ भने बाँकी के गर्ने भन्ने प्रश्न उठ्छ । प्रमोटर शेयर कसलाई बेच्ने, कसले किनिदिने यो समस्या आउन सक्छ । त्यसकारण अहिले भइरहेका शेयरहोल्डरलाई एक्जिट दिनुपर्छ ।
नेपालको बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहानेहरूलाई सुझाव के छ ?
बैंकिङ क्षेत्र सबैभन्दा धेरै नीतिनियममा बाँधिएको अनुशासित संस्था हो । अन्य क्षेत्रभन्दा अलि बढी सुविधा, वातावरण र वृद्धिका हिसाबले निरन्तर रूपमा राम्रो काम गर्ने, इन्टीग्रिटी उच्च भएको अनुशासित व्यक्तिहरूका लागि नेपालको बैंकिङ क्षेत्र राम्रो छ । आफू राम्रो र अनुशासित हुँदा नेपालमै बसेर योगदान गर्दै आर्थिक रूपमा राम्रो जीवनस्तर बनाउन सकिने क्षेत्र वा पेसा बैंकिङ नै हो । उतारचढाव त जुनसुकै क्षेत्रमा पनि आइहाल्छ । पढ्न बाहिर गए पनि योगदानका लागि नेपाल आउनुपर्छ भन्ने मान्यता मेरो छ । म स्वयम् पनि बाहिर गएर पढेँ र अहिले नेपालमै योगदान गरिरहेको छु । प्रस्तुति : ज्योति जीसी/कर्पोरेट म्यागजिनबाट
FACEBOOK COMMENTS