काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरी त्यहाँका गतिविधि र समस्याबारे जानकारी लिएका छन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बजेट अभावका र जनशक्ति दरबन्दी यकिन नहँदा छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको बताए ।
जवाफमा मन्त्री यादवले आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए । उनले भने, “बाँकी रहेका काम सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।”
मन्त्री यादवले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमनका क्रममा त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग छलफल गरे । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रको भवन साँघुरो भएकाले सेवा प्रवाहमा आइरहेका समस्या अवगत गराए ।
मन्त्री यादवले केन्द्रले सामना गरिरहेका समस्या समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए । उनले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकता पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
FACEBOOK COMMENTS