काठमाडौं । संवैधानिक परिषद्ले पहिलो, दोस्रो र तेस्रो वरीयताका न्यायाधीशलाई छोडेर चौथो वरीयताका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेकोप्रति कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आक्रोश प्रकट गरेकी छिन् ।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफूमाथि अन्याय भएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् । विद्यमान संरचना भत्काएर परिवर्तन रोज्ने प्रयासले सत्तामा रहनेको धित मर्ने भए पनि विधिको अपेक्षा राख्नेहरूको सपना भङ्ग हुने उनले बताएकी छिन् ।
विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने टिप्पणी उनको छ । औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य विधिको शासनमा विश्वास गर्नका लागि सैह्य नहुने उनको तर्क छ ।
उनले विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता सबैले देखाउनुपर्नेमा पनि जोड दिएकी छिन् । ‘यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्ने कुरा हो, विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्छ,’ उनले भनिन्, ‘यस्तो भएन भने संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वत: सुरक्षित भइरहन्छ भनेर हामी मान्न सक्दैनौँ ।’
संविधान राज्य सञ्चालनको कानुनी दस्ताबेज मात्र नभएर नागरिकको जीवन पद्धतिको रूपमा रहनुपर्ने उनको भनाइ छ । संविधान, संविधानवाद, संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै उनले संविधानको कार्यान्वयनको लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको धारणा व्यक्त गरिन् ।
