इनरूवा (सुनसरी) । वर्षायाममा बाढी आउँदा सप्तकोशीको राक्षसी रूप देखिन्छ । पूर्वी पहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढ्नेबित्तिकै सप्तकोशी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोशी नदीमा केन्द्रित हुन्छ ।
वर्षायाममा पानी र बाढीले भरिभराउ हुने सप्तकोशी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन् । धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन् । यी टापु देख्नेले भन्छन्, ‘नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षातमा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो ।’
सप्तकोशी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ । तर, यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ । नेपाली कांग्रेस इनरूवाका उपसभापति प्रदीप ढकाल धेरै वर्षदेखि यो समस्या समाधान नभएको र यसतर्फ सरोकार भएका निकायको समेत ध्यान नगएको बताउँछन् ।
‘पूर्वमा कञ्चनगङ्घादेखि पश्चिममा लामटाङ हिमाल (गोसाइँकुण्ड) सम्मको ठूलो भू-भागमा फैलिएको सप्तकोशी नेपालको सबैभन्दा ठूलो नदी हो । तिब्बत र नेपालका हिमाल, पहाड, तराई हुँदै भारतको गङ्गा नदीमा गएर मिसिने यस नदीले निम्त्याउने विपद्ले यी सबै क्षेत्र नराम्ररी प्रभावित भइरहेका छन् । त्यसैले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ,’ उनले भने ।
सुनकोशी, दूधकोशी, इन्द्रावती, तामाकोशी, अरूण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोशी नदीमा बालुवा थुप्रिँदै गएपछि नदीको गहिराइ कम हुँदै गई सतह पुरिँदै जाँदा हरेक वर्ष जोखिम थपिँदै गएको छ ।
सुनसरीको कोशी गाउँपालिका-६ का देवचन्द्र झाले कोशी नदीको गहिराइ कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताए ।
नदीको भुइँसतह माथि उठ्दै गएपछि नदीको बाढी तटबन्ध छेउसम्म आउने गरेको र बस्ती क्षेत्रमा पसेर हरेक वर्ष डुबान हुने गरेको कोशी क्षेत्रका जानकार तथा पत्रकार बाबुराम कार्कीको भनाइ छ । ‘हिमाली र पहाडी क्षेत्रमा हुने भूक्षयका कारण समथर क्षेत्रमा फैलिएको कोसी नदी क्षेत्रको सतह वृद्धि भएको छ । थोरै मात्र पानीको मात्रा बढ्दा पनि बाढीले ठूलो रूप लिने गरेको छ,’ उनले भने ।
बराहक्षेत्र-९ का भीम कार्की विगत वर्षमा पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने यस नदीमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको बताउँछन् ।
‘पहाडी भूभागमा सामान्य वर्षा हुनासाथ सप्तकोसीमा पानीको मात्रा बढ्ने गरेको छ । नदीले वर्षाका चार महिना (जेठ, असार, साउन, भदौ) आफ्नो रौद्र रूप देखाउँदै आएको छ । बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हुँदै जादा यहाँ बालुवाका टापु बनेका छन् । पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यहीँ थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन,’ उनले भने ।
इनरूवाका वरिष्ठ पत्रकार शशि कोइराला बाढीमा आउने बालुवाजन्य सामग्री थुप्रेर नदी निर्बाध बग्न नपाएकै कारण समस्या सिर्जना भइरहेको सुनाउँछन् । कोशी ब्यारेजको ढोकाले पूर्वी पहाडी जिल्लाबाट ल्याउने बालुवा, रूख, माटो, गेग्य्रान निर्वाध रूपमा बग्ने अवस्था नरहेको र त्यसरी थुप्रेका सामग्रीको उचित व्यवस्थापनमा ध्यान दिनुको विकल्प नरहेको उनको भनाइ छ ।
सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजका ढोका भारतले आवश्यकतानुसार मात्र खोल्ने गरेको छ ।
सप्तकोशी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बूले कोशी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताए । नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेबित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताए ।
कोशी योजना विराटनगरका सम्पर्क तथा सह भू-आर्जन अधिकृत प्रमोद पौडेल पनि सप्तकोशी नदीमा गेग्य्रान जम्मा हुँदा वर्षायाममा जोखिम बढेको बताउँछन् । समस्या बढ्दै गए पनि स्थानीयस्तरमा आफूहरूले केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘विसं २०११ वैशाखमा नेपाल र भारत सरकारबीच भएको कोशी योजनासम्बन्धी सम्झौतामा नेपालको अधिकार परामर्श दिने र अनुगमन गर्ने मात्र रहेकाले यहाँको समस्या समाधानका लागि सरकारकै तहबाट पहल गर्नुपर्ने हुन्छ,’ पौडेलले भने ।
सप्तकोशी नदीमा गत भदौ २४ गते राति छ लाख ५५ हजार ३७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा कोशी ब्यारेजमाथि रोड भएर बगेको थियो । यसलाई भारतको गङ्गा नदीले भन्दा बढी बालुवा थुपार्ने नदीको रूपमा चिन्ने गरिन्छ ।
FACEBOOK COMMENTS