काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय भेटबार्ता भएको छ ।
नेपाल बीमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा भएको भेटबार्तामा सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको हो ।
प्राधिकरणका अध्यक्ष ओझासँग भुटानका डेपुटी गभर्नर छोदेनले गरेकोे भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले गर्दै आएको जोखिमको अभ्यासमा आधारित पूँजी (आरबीसी) तथा सुपरीवेक्षण (आरबीसी), पुनर्बीमा सम्वन्धी नेपालको अनुभव र द्विपक्षीय सम्वन्ध सुदढीकरण लगायतका विषयमा छलफल भएको थियो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी र सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी दिदै यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।
अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए ।
भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताए ।
डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्वन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) लगायत पदाधिकारीहरू र भूटानको रोयल मनिटरी अथोरिटीका उच्चपदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS