ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र विस्तारका लागि बीमा कम्पनीहरूले आगामी दिनमा इमान्दारी र जिम्मेवारीका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज आयोजित नववर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
अध्यक्ष ओझाले प्राधिकरणले आफ्नो क्षमता अभिवृद्धि गरी स्तरीय सेवा प्रदान गर्न तयार रहेको उल्लेख गरे। उनले बीमा कम्पनीहरूलाई बोनसमा मात्र केन्द्रित हुन छाडेर टर्म इन्स्योरेन्सतर्फ ध्यान दिन सुझाव दिए ।
जोखिमाङ्कनमा देखिएका समस्याहरू सुधार गर्नुपर्छ, कर्मचारीलाई बीमालेख जारी र नवीकरणको लक्ष्य दिनुपर्छ, बीमालेखका शर्तहरूबारे शुरूमै स्पष्ट जानकारी दिनुपर्छ, कर्मचारी तालिममा जोड दिनुपर्छ र आफ्ना कामको प्रचार गर्नुपर्छ, उनले भने ।
उनले बीमा कम्पनीहरूलाई सहज क्षेत्रबाट बाहिर निस्केर घरजग्गा लगायतका नयाँ क्षेत्रमा प्रवेश गर्न, उपभोक्ता समूहलाई बीमामा समेट्न र टर्म इन्स्योरेन्सको बजार विस्तार गर्न निर्देशन दिए । साथै, बीमा बजारका समस्याहरू पहिचान गरी समाधानका साथ अगाडि बढ्न पनि उनले जोड दिए ।
अध्यक्ष ओझाले बीमा कम्पनीहरूको कार्य सम्पादनको निगरानी गर्ने कानूनी जिम्मेवारी प्राधिकरणमा रहेको बताउँदै हस्तक्षेपको अवस्था सिर्जना नहुने गरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास र विस्तारका लागि सबैले आ-आफ्नो स्थानबाट सकारात्मक योगदान पुर्याउनुपर्नेमा जोड दिए । प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ र लघुबीमक संघका अध्यक्षहरू, जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो। कार्यक्रमको संचालन प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाले गरेका थिए ।
FACEBOOK COMMENTS