कास्की । कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति लगायत अन्य मन्दिरहरू निर्माण गर्न लागिएको छ । साराङकोट धार्मिक एवंम पर्यटन क्षेत्र विकास समितिकाे उपसमितिले याे मूर्तिहरू निर्माण गर्न लागेकाे हाे ।
जसकाे संयाेजक अन्नपूर्ण केबुलकारका अध्यक्षसमेत रहेका काली गुरूङ रहेका छन् । उक्त उपसमिति अन्तर्गतकाे निर्माण समितिले याे मूर्तिहरू बनाउन लागेकाे हाे ।
सर्वसाधारणबाट रकम जाेहाे गरेर करिब ६ कराेड लागतमा पञ्चमुखी गणेशको मूर्तिसँगै शिवकाे मूर्ति, १०८ धाराहरू र यज्ञालय पनि निर्माण हुने केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिएका छन्।
पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गएकाे भदाै २२ गते शिलन्यास गरेका हुन् । फागुनमा निर्माण कार्य सकेर पर्यटकका लागि खुल्ला गर्ने महाप्रबन्धक पौडेलकाे भनाइ छ । जसकाे काम अहिले धमाधम भइरहेकाे पाैडेल बताउँछन् । “पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,” उनले भने, “मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिनेछ ।”
फेवातालबाट अवलोकन गर्न सकिने जमिनभन्दा ६० फिट अग्लो उक्त मूर्ति अन्नपूर्ण केबुलकाको माथिल्लो स्टेसन पुगेर पनि दर्शन गर्न सकिनेछ ।
उक्त मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर स्थापना भइसकेको छ । उक्त क्षेत्रमाबाट फेवातालमा जाने केवकार बनेपछि यस क्षेत्र पर्यटकका लागि आकर्षक बन्दै गएकाे छ ।
फेवातालदेखि साराङकोट जाेड्ने अन्नपूर्ण केबुलकार गएकाे फागुन महिनादेखि सञ्चालनमा आएकाे थियाे । केबुलकार सञ्चालनमा आइसकेपछि यात्रुहरुले फेवातालदेखि साराङकोटसम्मको यात्रा नौ मिनेटमै गर्न पाएका छन् । कम्पनीले साराङकोटबाट सूर्योदय र सूर्यास्त हेर्न चाहनेहरुका लागि विहान ५ बजेदखि साँझ ६ बजेसम्म केबुलकार सञ्चालन गर्दै आएको छ । हाल कम्पनीले औसतमा आठ जनालाई सेवा दिइरहेकामा ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक रहेको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS