काठमाडौं । बुक बिल्डिङ विधिबाट साधारण शेयर (आईपीओ) जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्तासँग छलफल गर्ने भएको छ ।
योग्य लगानीकर्ताले खरीद गर्न चाहेको धितोपत्रको न्यूनतम धितोपत्र संख्या, धितोपत्रको मूल्य, धितोपत्रको आधार मूल्य मूल्याङ्कनको विधि तथा प्रारम्भिक विवरणपत्रमा सुझाव सङ्कलनको प्रयोजनका लागि कम्पनीले उक्त छलफल कार्यक्रम आयोजना गर्न लागेको बताएको छ ।
उक्त कार्यक्रम आगामी १९ गते आइतबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरिने छ । कम्पनीले जारी गरेको सूचना अनुसार उक्त कार्यक्रम र्याडिसन होटेलको बेगनास हलमा दिउँसो ३ः१५ बजे शुरू हुने छ ।
छलफलमा सहभागी हुन चाहाने संस्थागत लगानीकर्ताहरूले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम (५) बमोजिमको विवरण, निष्काशन गरिने धितोपत्र संख्या, धितोपत्रको अनुमानित मूल्य, मूल्याङ्कनको आधार र औचित्य समेत स्पष्ट पारिएको प्रारम्भिक विवरणपत्र र संस्थाको तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विरण पेश गर्नुपर्ने छ । छलफल कार्यक्रममा उपलब्ध गराउनुपर्ने कागजात तथा विवरणहरू निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्ट, निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, सहायक विक्री प्रबन्धक क्रमशः एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटलको वेबसाइटमा हेर्न र प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम आईपीओ निष्काशनको तयारी गरिरहेको छ । नेपाल धितोपत्र बोर्डबाट संस्थागत लगानीकर्ताको रूपमा काम गर्न जेठ १० गतेसम्म ५२ वटा संस्थाले विभिन्न मितिमा स्वीकृति पाएका छन् ।
FACEBOOK COMMENTS