काठमाडौं । सर्वोत्तम सिमेन्टको साधारण शेयर (आईपीओ)मा करिब आठ गुणा आवेदन परेको छ ।
पहिलोपटक बुक बिल्डिङ विधिमार्फत जारी भएको आईपीओमा बिक्री खुला भएको दोस्रो दिनमै ओभर सब्सक्राइब भएको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार सोमबार साँझ ५ बजेर ७ मिनेटसम्ममा चार लाख सात हजार ७११ जना आवेदकबाट दुई करोड २२ लाख २३० कित्ता शेयरका लागि आवेदन परेको छ ।
ती आवेदनमार्फत कम्पनीले आठ अर्ब एक करोड २० लाख ६३ हजार सात रुपैयाँ सङ्कलन गरेको छ ।
कम्पनीले आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
कम्पनीले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
इच्छुक आवेदकले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आगामी बुधबार साँझ ५ बजेसम्म आवेदन दिन पाउने छन् । यसमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS