‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’
कर्पोरट खबर
3:46 pm, मंगलबार, चैत ६, २०८०
कास्की । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइ रहेकी छिन् । रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढ्नुभएको यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकामा चोट लागेको छ ।
सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौँ जाँदै थिइन् । घरबाट खाना खाएर सोमबार बिहान ९:३० बजेतिर चारै जना बसमा चढे । मङ्सिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौँमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भइन् । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो ।
बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा हिँडिरहेको थियो । साँझ पर्दै थियो । रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरुको अनुमान विपरीत बस नरोकिईकन अघि बढ्यो । यात्रुहरु आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए । सरिता पनि छोरीलाई काखमा सुताएर निदाइ रहेकी थिइन् । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले ।
सरिता पनि झल्यास्स भइन् र काखको छारीलाई च्याप्प समाइन् । बस एक बल्डङ खाएको सरितालाई याद छ । उनी त्यही अड्किए छिन् । मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भने, “एक्कासि बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी/छोरी भनेर चिच्चाएँ ।”
काखमा छोरी नदेखेपछि सरिता चिच्याइन् । भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुगिन् । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्कीइन् । बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू/ससुरासहित पाँच जनाको मणिपालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने उनलाई केही जानकारी छैन । बस एक्कासि सडकबाट तल खसेको मात्र उनलाई थाहा छ । पछि घाइतेहरुले बस तीव्र गतिमा भएको बताएको सरिताले बताइन् ।
अहिले सरितालाई काठमाडौँ जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ । “किन काठमाडौँ जान लागेँ हुँलाजस्तो भइरहेको छ”, उनले भने, “ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ ।” दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
उनका ससुरा हर्कबहादुर, सासू लिला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा नवराज बस्ताकोटीले जानकारी दिए । उनका अनुसार मणिपालमा पाँचजनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ । बाग्लुङको निसीखोला बस दुर्घटनामा नौजनाको मृत्यु भएको छभने घटनामा २८ जना घाइते छन् । घाइतेहरुको पोखरासहित बाग्लुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस
FACEBOOK COMMENTS